भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

केही टुक्रा : नारीहरू / महेश मास्के

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

गुलाफका पत्रदलहरूले
छोप्न सक्दैनन् परंपराका काँडाहरू
कति दिन लुकाउँछयौ, स्नेहमयी
रगताम्य आफ्ना पाइतालाहरू ?

तीजका गीतहरूमा पग्लेर
वा एक चरण दोहरी गीत गाएर
विसिहाल्यौ भने पनि पीडालाई एकछिन
सुक्लान र आँशुका अविरल धाराहरू ?

धर्ती भनी "सम्मान" गरेर तिमीलाई रिझाउँदै
धर्ती माथि स्वामित्व गर्नु जसले आफ्नो अधिकार ठाने
छातीमा टाँसेर उनीहरूलाई नै
बगाउँछौ स्नेहका अजस्र धाराहरू ?

को हौ तिमी, तिम्रो हुनुको अर्थ के हो ?
सम्यताको निर्माणमा तिम्रो भूमिका के रहयो ?
कहाँ थियौ तिमी र कहाँ आइपुग्यौ अहिले
उठ्‌दैनन् मनमा कहिल्यै प्रश्नका ज्वालाहरू ?

आइमाईको जातै छोटो
आइमाईको कर्म खोटो भन्दै
सराप्दैमा "भाग्यको लेखा" लाई
साकार होलान् र मुक्तिका सपनाहरू ?

०००