के तिमीलाई थाह छ ? / सुशीला पुरी / सुमन पोखरेल
के तिमीलाई थाह छ ?
जहिल्यै हामीले कुरा गरिरहेको बेलामा
के भइरहेको हुन्छ ?
शीतका ससाना थोपाहरूमा
अनवरत भिजिरहन्छ मेरो आत्मा
कुद्न थालेकी हुन्छु म बिहानको पहिलो झुल्कोझैँ
कोमल नाङ्गा दूबाहरूमा ।
अनेकौँ पुतलीहरू उड्न थाल्छन्
चेतनाको बगैँचामा
अम्बाका बोटहरू माझ लुक्न थालेकी हुन्छु म
र टिप्न थालेकी हुन्छु अम्बाका कटमिरा दाना ।
अन्धवेगले कुद्न थाल्छ सुगन्धझैं केही
धमनी र शिराहरूमा,
र गोडामुनीको धर्ती पनि
मगमगाउन थालेको हुन्छ एक्कासी ।
कैयन गौँथलीहरू चिरबिराउन थालेका हुन्छन्
दलान, छाना र बार्दलीमा,
घर पनि लामोलामो निश्वास लिन थालेको हुन्छ ।
अङ्गुरका लहरा
आँगनभरि फिँजिन थालेका हुन्छन्
र तिनको छायाबाट
म बनाइरहेकी हुन्छु तिम्रो चित्र ।
एउटा अज्ञात लयमा
मरुभूमीदेखि समुद्रसम्म नाच्न थाल्छ हावा
नाच्दछु म पनि एकरत्ती नगलीकन आदिम धून र तालमा,
अडिन्छन् शब्दहरू मौनता ओढेर ।
त्यही महामौनतामा बग्दछन्, आँसुका झर्ना,
दुबैका आँसु बटुलेर
बनाउँछु म एउटा लामो नदी,
मनतातो-मनतातो भएर बिस्तारै बिस्तारै
बेमनले बग्न थाल्छ त्यो ।
त्यसका लहरमा माछाहरू छन्
र ती माछाहरूमा म छु ।