के हुनसक्छ प्रार्थना मेरो... / आद्याशा दास / सुमन पोखरेल
नसकिने रातहरूमा मैले सुतिरहेकी हेरेकी छु तिमीलाई
मेरो न्यानो अँगालोको गुँडभित्र
निद्राले भिजेको तिम्रो मुहार हेर्दै
छिसिक्क केही हुँदा पनि आफूतिर तान्दै
कहाँबाट सिक्यौ तिमीले डर, नानी?
बोक्सी र डायन, प्रेतात्मा र भूत
के तिमीलाई थाह छैन यहाँ तिम्रा छेउमै छु म!
सबै अनिष्ठ रोक्ने तिम्रो कवच!
तिमी लड्यौ र घाइते भयौ त्यस दुखद आइतबारका दिन
मैले तिम्रा आँशु पुछेँ, तिम्रो घाउ सफा गरेँ
घरिघरि भनिरहेँ, केही भा छैन
तिम्रो इन्द्रणी मुस्कानले मेरो आकाश उज्यालो नपाउरुन्जेल
तर मलाई थाह छ आफैँलाई सान्त्वना दिँदैछु म
के म कष्टविहीन संसार उपहार दिन सक्छु साँच्चै तिमीलाई?
हाँसो र खुशीले भरिएको एउटा संसार?
के मेरो जादूको छडीले मेटिदिनेछन् तिम्रा सबै निराशाहरू ?
जीवनले ल्याउन सक्ने आँशु र चोटहरू ?
छोरी, हुर्किरहेकी छ्यौ तिमी
संसारको सामना गर्नसक्ने आत्मविश्वासका साथ
आफैँ फुकाउँदै आफ्ना कठीनाइहरू
मैले जानेका भन्दा नौला तिम्रा आफ्नै उपायहरूले
तिमीले एक्लै छोड्नेछौ एकदिन मलाई
आफ्ना सपनाहरू पछ्याउँदै
मैले तिम्रा लागि कामना गरेका
प्रेम र हाँसो, सफलता र साथको ।
मेरो एक मात्र प्रार्थना छ तिम्रा लागि,
तिम्रा पखेटामुनिको बतास बन्न सकूँ
तिमीसँगसगैँ रहिरहूँ म, जून जसरी
बतास जसरी, तिमीले हिँड्ने बाटाहरू जसरी
दुःख र पीडामा, एक्लो हुँदा
सँगै हुनेछु म
मेरी छोरीका लागि
सधैँभरि ।