भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

कोट आधा ओढेर / मोहन कोइराला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कारखाना, अनुसन्धानशाला र उत्पादनक्षमताका विम्बमा
लक्ष्य गर्दा,
ढिलो सुतेको छिटो उठाउँदा मान्दैनन् आज
घुइँचो भए पनि बासी गन्ध भेटिन्छ बिहान
बस चल्छ, विद्युत खपत बढ्छ
कोठा, घर, कार्नेस उज्यालो बन्छ, अरू कुनै हुँदैन खलबल हुन्छ,

लाप्पा मारेर जाँड र सिँढीको छालमा हुस्से तन्किन्छ
प्रत्येक रात काट्दासँग एक विदेशी ‘एड’
अँगालेर निदाइदिन्छ कक्षमा भोलि अर्को प्राप्त गर्न,

बिगुल फुकिएको हुन्छ हामी जान्दैनौँ कस्तो नाच आफै नपुगी
यसमा विज्ञापन हुन उभिन्छु
खुला अक्षरहरू हातभरि टाँसिदिएर,

नसक्दा–नसक्दा निद्रा पर्दैन
विशुद्ध साहित्य कमजोर अर्थदर्शन, यसको चर्चा
आजभोलिको सस्तो फलाको
शङ्का, उपशङ्का, घृणाले थापेको त्यसैमा बजार छ,
कसैले बोकेको सहरको नमुना छ

तुफानी वेग भाषाभित्र कैदी बनेको छ
बर्सात, ठीक मानेमा बर्सात मान्न सकिँदैन
धरहरा सिँगारिएर सोकेसमा उङिबस्छ बैठकमा
कसलाई दरिद्र बन्न फुर्सद यहाँ,

कञ्चनजङ्घा, माछापुच्छ्रे खिइँदा–खिइँदा
स्टुडियोको पर्दामा हल्लिई मात्र दिन्छ, हिजोआज, सोकेसमा

यस्तो ठाउँ बेला–कुबेला वास खोज्नु बेकार हो
कोट आधा ओढेर, कोट आधा ओछ्याएर
डुल्दा आइमाईको तातो किन्ने कौडी छैन भनेकाठमाडौँ
रात काट्नुपर्दा पोस्टर बनेर काट्नुपर्छ।