Last modified on 6 जुलाई 2020, at 10:46

कोपिलामै थियो फूल, नफक्रँदै झर्यो फेरि / रवि प्राञ्जल

कोपिलामै थियो फूल, नफक्रँदै झर्यो फेरि ।
भोर हुँदै थियो भर्खर, किन रात पर्यो फेरि ।

जून झुल्क्यो डाँडापारि एक्लैएक्लै उदासउदास,
किन होला पापी बादल उतै तिर सर्यो फेरि ।

अँध्यारोको जुलुसभित्र उज्यालोको स्वप्न देखें,
स्वप्निल त्यो चाँदनीले मन मेरो हर्यो फेरि ।

उड्दै थिए छाना माथि परेवाका जोडीहरू,
विष मिसाएको चारा सिकारीले छर्यो फेरि ।

सधैँ जस्तै आज पनि पर्देशीको चिठ्ठी आयो,
छिटै फर्कीआउँछु भनी झूठो वाचा गर्यो फेरि ।

उन्मुक्त भै बाँचूं भन्छ जिन्दगीमा ‘रवि’ तर,
हिजो पनि मरेकै हो, आज पनि मर्यो फेरि ।