Last modified on 28 मार्च 2025, at 17:29

क्रान्तिको पाठशाला / अभय श्रेष्ठ

त्यो उदास युवतीलाई भेटेपछि
एकाएक मलाई बोध भयो–
चिल्लो गाताको सस्तो किताबजस्तै
व्यवस्था एक भव्य शौचालय हो ।

प्रेम र करुणा यो देशमा
दलित प्रेमीझैँ रगतपच्छे भएर
बगिरहेछन् भेरीको उर्लंदो भेलमा
न्याय धर्मभक्तको लासझैँ
झुन्डिरहेछ खरीको सुरिलो बोटमा
मन्द–मन्द खुसीको फूल फुलाउँदै
क्रूरता फरार कैदीझैँ
तरबार नचाउँदै दौडिरहेछ सडकमा ।

दीर्घ रोगीको हाँसोजस्तै
परिवर्तन यो देशमा भित्र केवल ढुसी हुने
कटुसको चिल्लो दाना हो ।

त्यो उदास युवतीलाई भेटेपछि
एकाएक मलाई अनुभूत भयो–
विद्रोहीको आक्रोशजस्तै
वेश्यावृत्ति एक विशाल प्रतिवाद हो ।

शब्दको भारले थिचिएको मृत कविताजस्तै
शान्ति चट्ट सिँगारिएको भव्य मसानघाट हो ।

मानवता– गुम्बाकै छेउमा बलात्कृत
भिक्षुणीको आर्तनाद हो ।

शूर्पणखाको दण्डित प्रेमजस्तै
तिम्रो शौर्य एक प्रयोगशाला हो ।

दुःख छ
मुटु नै कटकटी खाने दुःख
र पत्थर नै पग्लिझर्ने इमानबीच
के साइनो छ कुन्नि !
त्यो उदास युवतीलाई भेटेपछि
मलाई अनुभूत भयो–
अविरल नदीजस्तै अपराजित युवती
क्रान्तिले भुलेको पहिलो पाठशाला हो ।