भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

क्रान्ति / महेश मास्के

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

लामो घुमाउरो बाटो
स्थिर कदमहरूले कुल्चदै
अगाडि बढिरहेको उसलाई
तिमीले देखेका छौ ?

जसको हातमा स्वयं इतिहास राँको भई बल्दछ
अभेद्य कवच बनेर सिद्धान्त जसको रक्षा गर्दछ
जनसमुन्द्रका उत्ताल लहरहरूमाथि सवार भएर
पृथ्वीलाई कम्पित गर्दै
बिजुली सरी चम्किरहेको उसलाई तिमीले देखेका छौ ?

सुन टाढा बजिरहेका ड्रमहरू
उसको हिडाइको आवाज हो
भीरमा उभीएका सल्लाका सुसाइहरू
उसको सास फेराइ हो
तिमीले उसलाई देखिसकेको हुनुपर्छ
तिमीले उसलाई सुनिसकेको हुनुपर्छ
या देखेर, सुनेर पनि
बुझ पचाएको हुनुपर्छ
तर यदि वास्तवमा अझै
संज्ञा शून्य छन् तिम्रा इन्द्रियहरू भने
अबेर नगर
किनकि उलिरहेको जनआक्रोश
उसको रफ्तार हो
०००