भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

क्रूरको सौन्दर्यप्रेम / राजव

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बाज पनि मुग्ध छ
यो बिहान

आफ्ना नङ्ग्राहरू
हाँगोमा गाडेर
मोहित
महसुस गर्दै छ
आफ्ना पखेटाका काप–कापमा
चिसो सिरेटो

ऊ अहिले आहारका लागि सक्रिय छैन
छ उत्तिसको हाँगामा
स्थिर/आनन्दित

त्यस कारण
चराहरू
अहिले निमग्न उडिरहेछन्

खबर छैन उनीहरूलाई
नजिकैको यो बाजको
जो लालायित सुदूर देशको पर्यटकझैँ
हरिया पहाडपछाडिको अर्ध–उदित सूर्य हेर्दै छ

बिहानको यो कलिलो मोहकता
हट्नेबित्तिकै
फेरि झम्टनेछ ऊ
चराहरू

वास्तवमा
क्रूरको सौन्दर्यप्रेम
स्थायी हुँदैन