भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

क्षितिज टाढिँदा / उमेश लुइटेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

प्रिय मित्र अहिले म
त्यही बाँसझ्याङको परिधिमा छु
जहाँ हामी खेतका डल्लाका गजुरमा
कलिला पाइतालाले टेक्तैटेक्तै
पटयाँसको फिरफिरे बनाउँदै घुमाइरहन्थ्यौँ ।
हावा हामीलाई छक्याउँदै
चारैदिशा घुमाइरहन्थ्यो
र हामी हजुरआमाले पोल्टाबाट दिनुभएको
काल्चीमिस्री चुस्तैचुस्तै
फिरफिरेको स्टेरिङ घुमाएर
डाँडाखेतका आलीआली कुदिरहन्थ्यौँ ।
हामी आकार र छायाजस्तै थियौँ
हाम्रो क्षितिज र हामी
जीवन र श्वासजस्तै थियौँ
स्वर्णिम थियो हाम्रो बालापन
अपरिमेय अनुपम थियो प्रकृतिसँगको त्यो नाता ।
तर तिमी छैनौ अहिले
सोचमग्न छु
दूर क्षितिजसँगको तिम्रो मोहले
कतै आफ्नै क्षितिज टाढिएको त छैन् ?
यतिखेर म डाँडोखेतमा उभिएर
मनको सागरमा सम्झनाका लहरहरूको चोट गनिरहेछु
गरागरामा तिम्रै प्रतिकृति खोजिरहेछु ।
यस अर्थमा कहाँ कम छ र
तिमी टाढा हुँदाको दुःख
आफ्नै मुटु काटिएको पीडाभन्दा ।