खस्दाखस्दै बल्झेका यादहरू / दीपक शम्चू
जलकुम्भिझैँ फुलेर अल्झिएकी थिएँ
नदी किनारमा कतै
अँजुलीभरि इन्द्रेणी बोकेर तिमी आइपुग्यौ
र लहराले जसरी बेरिदियौ ।
बस ! पुगी त गयो;
सारा सपनाहरू बिर्सेर
तिम्रै सुगन्धमा हराउन थालेँ ।
मेरो मुटुको तरङ्ग तिमीभित्र पसेर गुञ्जियोस्
पछ्याइरहने छाया तिमीसम्म पुगेर हराओस्
मलाई काउकुती लगाएर हिँडेको बतासले
हाँसोको कोसेली तिमीलाई छोडेर जाओस्,
र तिम्रै चाहनामा सकिऊन् बाँकी सबै रहरहरू ।
बिर्सिसकेकी रहेँछु
हट् घोडा हट् – लठ्ठीको घोडा दौडमा हराएका सबै साथीहरू
फर्किजाने बाटो भुलेर बीच जङ्गलमा रुमल्लिरहेका गाईबाख्राहरू
झरीमा ओत खोज्दै ओडारभित्र पसेर बटुलेका गट्टीहरू
र तिम्रै सम्झनामा आँखा पोख्दै गीत लेख्ने अक्षरहरू ।
असरल्लै छोडेर अतीत तिमीभित्रै विलाएथेँ
दुवै मिलेर बजाएथ्यौँ मुर्चुङ्गा
भेट्टाएथ्यौँ मूर्च्छना ।
आकाश छुने पुल तर्दातर्दै एक्कासी हुत्याइदियौ
आइकारसझैँ तल...तल... खस्दै गर्दा यसबेला
ठोकिँदै छन् भएभरका यादहरू
ठ्वाक्क... ठ्वाक्क, ठ्वाक्क... ठ्वाक्क ।
थैलुङ्...ऽऽनी हुँदा फेरेको सास त्यतै छुटेको छ
समातेर आफूसँगै राख्नू
एकान्तमा मेरो साउती सुन्न सक्छौ ।
लुकाइराखेका प्रेमका स्मृतिहरू
झोलाको गोजीमा, खोपीमा, कोठाका चेप–चेपमा,
होसियारीको साथ खोज्नू
विरक्तिएको बेला झल्याँस्स–झल्याँस्स सम्झना पल्टाइ रहन सक्छौ ।
तिम्रै मुटुमा सिउरीदिएकी छु
आमाले मेरो गालामा राखिदिएको गुलाफ
जतनले सजाएर राख्नू
सम्झनाले सताएमा लुकेर
नछोई मलाई नियालिरहन सक्छौ ।
तिम्रै लागि छोडिदिएकी छु जीवनको धून
अरू कसैले नसुन्नेगरी गुनगुनाउनू-गुनगुनाइरहनू
तर, अब कहिले नगर्नू
मसँगै गीत गाउने रहर ।