Last modified on 25 जनवरी 2022, at 18:29

खुलेको एउटा नयाँ परिचय-पत्र / केदार गुरुङ

एकचोटि मरेर दाह-संस्कारपछि पनि
कोही बौह्रिएर फर्किआउँछ भने त्यो
अवश्य भूत मात्र हुनसक्छ।

जसरी कसैले एकपल्ट चोरेर
हजारपल्ट साधु हुने कसम खाने गर्छ
अनि मुक्तिपछि मुसाले बाघ भएर खान खोज्छ।

त्यसैले हामी चोर र भूतलाई
एउटै शब्दले मात्र परिचय दिने गर्छौँ –
“एकपल्टको चोर सधैँ–सधैँको चोर” नै हुन्छ!
एकपल्ट मरिसकेको मान्छे र बितिसकेको समय पनि
त्यसरी नै सधैँ– सधैँको निम्ति “भूत” मात्र हुनसक्छ।