भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

खोलाको गीत / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

खोलाको गीत मन पर्दैन भन्थ्यौ
भन्थ्यौ मन पर्दैन
ती बिनसित्ती उफ्रिरहने छालहरू
फेरी आज
यो मर्दै गएको पानीमा
किन खोजिरहेछौ
आफ्नै ढुकढुकीझैँ प्यारो मानेर
ती वर्षौ पहिले बिलाएका छालहरू ?
 
म गति हुन चाहन्थे
तिमी नदी हुन चाहेनौ
बग्नै चाहेनौ त्यहाँदेखि यहाँसम्म
आफ्नै अनुहार हराएको
पोखरीमा
मलाई
जीवनको प्रतिबिम्व खोज्न लगायौ
 
अब म कुनै दौड जित्न चाहन्न
व्यर्थै नउभिए हुन्छ
यो सीमानामा
मेरा पाइलाहरू
खोजेर पनि भेटिनेछैनन्
शीतोष्ण यी आँखाका ढकनीभित्र
यस्तो विध्न ठिहीमा
अब म
कुनै छाल उमार्न सक्दिन
 
टक्क अडिएको छु म यतिखेर
ओरालोमा
औँलाका नङ्ग्राहरू गोडेर
बयली नखेल
ए मीठा सपनाहरू !
यो किनारभन्दा पारि
म कुनै यात्रा गर्न सक्दिन
 
खोलाको गीत मन पर्देन भन्थ्यौ
फेरि आज
यो मर्दै गएको पानीमा
किन पर्खिरहेछौ नयाँ धूनको आरम्भ ?