खोलो / कुन्ता शर्मा
खोलो मौन थियो
शरद पूर्णिमाका जुनेलीहरू
खेल्न पाएनन् यसको छातीमा
नीर नीलिमायुक्त आकाश
रमाउन पाएन यसको वक्षमा
खोलो निःशब्द थियो, क्लान्त थियो
खोलो व्यथित थियो, मरणान्त थियो ।
विकृतिहरूले पत्रपत्र भएर छोपिदिए
यसको छाती
विसङ्गतिहरूले थुप्रा–थुप्रा भएर ढाकिदिए
यसको वक्ष
मधुर सुसेली हरायो, मीठो बोली हरायो
जीवन्तता हरायो, प्रसन्नता हरायो
लक्ष्य हरायो, गन्तव्य हरायो
चञ्चलता हरायो, गतिशीलता हरायो ।
एक दिन एकदमै ठूलो बाढी आयो र
छताछुल्ल भयो सबै
दुर्गन्धहरू बगे, फोहोरहरू बगे
खोलो फेरि सुसेल्यो
खोलाले फेरि मीठो बोली बोल्यो
खोलो स्वच्छ भयो, खोलो सुन्दर भयो ।
तर मलाई थाहा छ
जब वर्षा थामिनेछ
फेरि लामो समयसम्म
खोलो मौन रहनेछ
ऋतुहरू फन्को मार्दै जानेछन्
फेरि थुप्रिनेछन् फोहोरका रासहरू
छातीभरि–भरि दुर्गन्ध बोकेर
हस्स गन्हाउँदै
खोलो निःशब्द हुनेछ ।
त्यसैले खोलो स्वच्छ हुन
खोलाले कलकल गीत गाउन
खोलो छोपिनुहुँदैन
महङ्खवाकाङ्क्षाका रासहरूले
खोलो पुरिनुहुँदैन
विकृति र विसङ्गतिका थुप्राहरूले ।