भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गतिरोध / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

थकाइ मार्नुपर्छ काहिलेकाहीँ
अस्तित्वमा हुनेहरूले ।

निरन्तर चलायमान पानीले
थकाइ मार्छ हिमालका टाकुरामा पुगेपछि
नदीको यात्रामा पनि थकाइ मार्छ
ढुङ्गाको आड लागेर वा किनारतिर ढल्किएर कहिलेकाहीँ
र लमतन्नत सुस्ताउँछ सागरमा पुगेपछि
अर्को यात्रा शुरू गर्नुअगाडी ।

तर सहज छैन समयलाई थकाइ मार्न
रोकिन सक्दैन ऊ, आफ्नो चाहनाले
फलैँचामा बिसाउन पाउँदैन आफूलाई
न त जोगी भएर बस्न पाउँछ एकछिन ।

तर थकाइ त मार्नैपर्छ होला
समयले पनि कहिलेकाहीँ ।

त्यसका लागि
के उपाय गर्छ होला उसले ?