भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गराको चपरीमा / ईश्वरवल्लभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

धरती रजस्वला हुन्छ
अलि पर आकाशदेखि टाढीएर बस्छ;
किन यो धरती असमय रजस्वला हुन्छ?

वर्षमा कहिले तीन फेरा हुन्छ
कहिले हुँदै-हुँदैन
कहिले दिनमा निकै फेर चुहिन्छ
आकाशले हार खाइसक्यो
जब नजिक जान्छ आकाश धरती अलि उठेर पग्लिन्छ ।

धरती रजस्वला हुन्छ
यो बीसौं शताब्दीमा
यो बीसौं शताब्दीको यो युगमा
किन धरती घरि घरि रजस्वला हुन्छ?

यो बादल जस्तो रगतको फाल्सा-फाल्सामा
धरतीको युग युग गन्हाउँछ
कुरुक्षेत्रको मासु गन्हाउँछ
हिरोसिमा र नागासाकी कुहिएको गन्हाउँछ।

खेतका गरा-गराको चपरीमा नमेटिने दाग लागिसके
रुखको पात-पातमा रगत लागिसक्यो
तरै पनि पृथ्वी किन असमय रजस्वला हुन्छ |

सायद पृथ्वीले अब एउटा नयाँ सारी फेर्छ,
सायद पृथ्वीले अब एउटा नयाँ सन्तान जन्माउँछ
सायद पृथ्वीले ढाँटेर आकाशलाई भन्छ –
म चोखो छु | मलाई गर्भाधान देऊ |

तर आकाश टाढा बस्छ
आकाशले सायद बुझ्छ –
पृथ्वीको नयाँ सन्तान अझै,
अझै पृथ्वी जस्तै गन्हाउँछ
पृथ्वी अस्पृश्य छ
यो धरती अशुद्ध छ |

यो बादल जस्तो रगतको फाल्सा-फाल्सामा
धरतीको युग युग गन्हाउँछ
कुरुक्षेत्रको मासु गन्हाउँछ |