गरिबको राष्ट्रगान / दुर्गालाल श्रेष्ठ
हो, मलाई पनि त प्यारो लाग्छ मेरो देश है
तर म देख्दिनँ हाय ! मेरो देश खै, त्यो देश खै ?
छैन सबकन उत्ति हावा, घामपानी तक जहाँ
कति त छन् नीदै बिसाउनबाट पनि वञ्चित यहाँ !
छन् सबै, तर यति विचित्र कि छैन हाम्रो निम्ति क्यै
देश मेरो पनि भए यो, खै त, मेरो अंश खै ?
यति यहाँ विषाक्त हावा, सर्पको लपलप फणा
सासले आगो उकेल्दै बाँच्नु कत्ति विडम्बना !
यो त हाम्रो खोस्नु हैन र, बाँच्नुको अधिकार नै
गर्छु अब विद्रोह गर्छु म, छैन यो स्वीकार है !
नाइँ यस्तो हीन जीवन अब कदापि म बाँच्दिनँ
यो त हास्यास्पद मरण हो, अहँ अँगाल्न म सक्दिनँ
ज्यूनु हाम्रो भन्नु क्यै छ त पीरकै बस् भार छ
पीर हो नि लडेर गुम्ने, प्राप्ति तर संसार छ !
ए तिमी ! हामी गरिबको गर्दछौ जो रक्तपान
किन तिमीसँग नै म गाऊँ, स्वर मिलाई राष्ट्रगान ?
गर्नु भण्डाफोर तिम्रो, देशकै गुनगान हो !
नाश तिम्रो पार्नु हाम्रो राष्ट्रकै निर्माण हो !