गाउँको पाठशाला / मीनबहादुर विष्ट
जब म घुम्दै एक दिन गाउँको पाठशालामा पुगेँ
त्यहाँ देखेँ मुस्किलसाथ उभिएका
केही पर्खालहरू
र पर्खालहरूमा झुन्ड्याइएका
कीराले खाएर धेरै ठाउँ प्वाल परेका
देशका, संसारका र वीरहरूका नक्साहरू ।
जब म घुम्दै एक दिन गाउँको पाठशालामा पुगेँ
त्यहाँ देखेँ घामले पोलेर छहारी खोज्दै
पाठशालाभित्र पसेर
मौनवाचन गरिरहेका गाई–बाख्रा र गोठालाहरू
र पाठशालाका कोठाभित्र बस्न नसकेर
बाहिर रूखको सियाँलमुनि
चर्न लागेका मास्टर र विद्यार्थीहरू ।
जब म घुम्दै एक दिन गाउँको पाठशालामा पुगेँ
त्यहाँ देखेँ
खुट्टा भाँचिएका कुर्सीमा चढेर
निदाइरहेका र निद्रामा बरबराइरहेका मास्टरहरू
र मास्टरहरूको आदेशबमोजिम
लोरी गाइरहेका
साना, दुब्ला र ख्याउटे विद्यार्थीहरू ।
जब म फर्किरहेको थिएँ
कसैले सोध्यो—
‘कसरी चलिरहेछ गाउँको पाठशाला ?’
मैले भनेँ—
‘जसरी चलिरहेछ योदेश ।’