भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गाउँले गजनी / प्रवीण राई 'जुमेली'

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जुन दिन त्यसले मेरो टाउकोमा १७७९ अगिको फ्रान्स बजारेर गयो
त्यस दिनदेखि यता म एन्टेरोग्रेड अम्नेजियाले ग्रस्त छु
म भन्न सक्तिनँ कतिबेला मेरो स्मृति जान्छ र कतिबेला त्यो फर्किन्छ
भुलेकाहरुलाई सम्झिनैलाई जिउभरि झरी र बादलहरुको टाटू खोपिराखेको छु

विपनाको पत्करहरु टेक्दै जीवनको फारम भर्न
आउनेहरुलाई म सधैँ तयार राख्छु मेरो जवाफ
पहाड मेरो आमा माटो मेरो पत्नी र पसिना मेरो सन्तान
ब्लिडिङ टेक्नोलजीको बैसाखी टेक्दै खेलहरु बेचिहिंड्ने ब्रोकरहरु झैं
भ्रमको अविराम ‘कमेडी सो’मा थप्पडीहरु खोज्दै गाईजात्राहरु
मेरो जिउने कलाको खिल्ली उडाँउदै खूब ‘मिमिक्री’ रच्छन्
अहो म तिनीहरुको समृद्धि बढाउने गाउँले गजनी सत्ते होइन
मेरो मनको हार्ड-डिस्कबाट तिनीहरुकै घमण्ड र रीसले
सन्तोक र रसमयताका फाइलहरु चुन्दै डिलिट गरेको छ
अहिले-अहिले सुन्दैछु मैले भुलेको ती स्मृतिहरु सबै
विस्मृतिको मेमोरी-चिपमा हालेर कुन्नि
समयको कमोडमा फ्लस् गरिएका छन् अरे

म एउटा रुख यो भेकको वारिपारि फैलिन सक्छु
केही घामको प्रकाश र झरीका थोपाहरु यतातिर पनि छिरिदिए
म पनि हरियै भएर झ्याँगिन सक्छु
कसले छोप्यो हँ यो अकासलाई कसले छोप्यो
कसले चुँडायो नी मेरो गाउँले-स्मृति मबाटै हँ
कसले डण्ठ्यायो मेरो गाउँले-इच्छाहरुको टाउकोमै
भनिन्छ यस्तै स्मृतिहरु खाएर मात्रै नअगाउनेहरु त कति छन् कति
फेरि भागेर आफैलाई सन्तोकको एकान्तसित
बहाल गराउने त्यस्तो मुलुक पनि खै कहाँ पाइयो र
तबै त साधु-बाक्केहरु अवसरहरुको झोलाभरि बोकी
स्मृतिको व्यापार गर्न आउनेहरुदेखि लुकिहिंड्नै पनि कहाँ सकियो र

ठूलो केही नाप्दैनस् भने किन जन्मिस् नाथे
सोद्धथे मासुले निर्मित बाबु
खै जन्मिनु अगिको अनाम र अचेतनतामा
जीवनको रहर उम्रिसकेको थियो पनि कसरी भन्नसक्छु र
त्यसरी मेरो आउनु यो संसारमा पूर्वनियोजित नै कहाँ थियो नी
यसैले भनिदिन्छु म त औल्याउँदै अनाम समयको चित्रगुप्तलाई
अब यसलाई पनि तँ एउटा षडयन्त्रको रुपमा दर्ता गर् ए
अनि भनिदे कि यो म जस्तो भएर मेरो आउनु
कतै पच्य कुरा होइन स्वागतयोग्य विषय होइन
यसैले मलाई तँ सधैँ रिमान्डमा राखिबस्
र यो खप्परमा १९१७ अगिको रुस ठोक्दै सोधिबस् सोधिबस्
तेरो आत्मकथा के हो र चुनौतीहरु के-के हुन्
के हो तेरो उद्देश्य र के-के हुन् पहलहरु
स्वाभिमान तेरो के हो र तँ मर्ने पुर्पुरो कहाँ छ
अनि म देखाइदिऊँला त्यही समयको खोल्सातिर
जहाँ तिमीहरुको भागको समय पनि
मेरो स्मृतिको मेमोरी-चिप खोज्दा खोज्दै तुरिजानेछ।।