गाउँहरू/बस्तीहरू / निमेष निखिल
हल्लैहल्लाको कोलाज छिचोलेर
सडक भेट्न आतुर छु म
राता मान्छे
राता भावना
र राताराता समयका नदीहरू
आफैँमा गतिशील छन्।
उत्तेजनाहरूबिच
रक्तपोखरीमा अक्टोपस पौडनुको नियति
म हेर्दै छु सिक्त आँखाहरूले
घोर्ले स्यालहरू कौमार्य लुट्दै छन्
कुसमय उर्लेका बैँसहरू
क्षयग्रस्त खसिरहेछन् प्रतिपल
गाउँहरूमा/बस्तीहरूमा।
अपलक लासनृत्य हेरिरहेछन् आँखाहरू
कानहरू/समवेत
मृत्युसुसेली सुनिरहेछन्
म देख्दै छु
मान्छे रुपान्तरणको रोमहर्षक परिदृश्य
गाउँहरूमा/बस्तीहरूमा।
चीलहरू निर्विध्न शान्ति गाइरहेछन् यति बेला
मान्छे स्वाभिमानमा
अनवरत ढुङ्गा हानिरहेछन्
एकसडक मान्छेहरू
बिरसिला कालरात्रिहरू
खै! कहिले पो निदाउन पाइयो र निर्द्वन्द्व ?
अझै पनि उज्यालो पर्खिरहेछन्
गाउँहरू/बस्तीहरू।
हरेक मान्छे हुनुको बोधमा
धमाधम अवषाद् ओकलिरहेछन् मान्छेहरू
काकाकुल तिर्खाहरू
घुट्क्याइरहेछन् रातो पानी
ढुङ्गा मनहरू पनि
सहनशक्तिको बाँध फुटाइरहेछन् यति बेला
गाउँहरूमा/बस्तीहरूमा।