भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

गुड बाई’ / स्वप्निल स्मृति

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिमीलाई बिदा गर्न
कुनै रोमान्टिक कविको
कविताले नै
काम चल्ने हो
दुर्भाग्य !

म फरक तरिकाले सोच्छु
जुन मेरो आदत हो ।

कुनै डाँकु होस् या सन्त
उसको अन्तिम सहारा
कविता हो
बिदाइको यो शुन्य घडीमा
म कविता लेखिरहेछु
मलाई प्रेम गर्नुमा बारबार अपराध
बोध हुन्छ
क्वाँक्वाँ रुन नसकेर यो ‘कन्फेसन’
लेखिरहेछु
च्यात्दै सेन्डोभेष्ट
सडकमा चिच्याउँदै
निस्कन नसकेर
कुनै बौलाही आमाले झैं
आफ्नै नाबालाक छोराको
घाँटी थिच्न नसकेर
पूरै म सत्य लेखिरहेछु ।

तिम्रो नाममा यो अन्तिम
तर
पहिलो कविता हो
प्रथम रजस्वलाको
रगत जस्तो
यो कविता विल्कुल काँचो कविता हो
म यो कवितालाई संसोधन
गर्ने छैन
म यो कवितामा कुनै फूलबुट्टा भर्ने
छैन
म यो कविता कुनै
समालोचकलाई छुन
दिने छैन ।

मलाई आज सा¥है रिस
उठेको छ

कविता लेखिरहेछु
यो कविता–
कुनै क्रान्तिकारी कविले
धार्नी र बिसौलीमा
विम्ब
जोखी जोखी लेखेको
कविता होइन
यो कविता
कुनै कृष्णभक्ति
धाराको कविले
बिहानै गङ्गा–स्नानपछि
पवित्र
चन्दन धसेर
पलेंटी मारेर
सोचेको कविता पनि होइन
यो कविता मध्यरातमा
सर्वाङ्ग
नाङ्गो भएर लेखिएको
कविता हो
यो कविता
लड्दै छट्पटाउँदै उठ्दै
मर्दै बाँच्दै लेखिएको
यो समयकै जिउँदो
कविता हो
मैले यो कविता लेखिरहँदा
निद्रामा मस्त
मेरो बच्चासमेत
दुईपटक हाँस्यो ।

म जे लेख्दैछु साँचो–सही–सलामत
लेख्दैछु
हुन त यावत्
व्यहोरा नलेखे पनि हुने
थियो
तर, लेखेँ–
यति लामो कवितामा
मैले भन्नु पर्ने
त एउटा सरल वाक्य न हो
जुन संसारकै जटिल भाषा हो,
त्यो अब म लेख्छु–

‘‘म तिमीलाई प्रेम गर्छु !’’

म यसलाई हजारौं पटक
लेख्न चाहन्छु
तर, जिन्दगीमा यति यथेष्ट ‘टाइम’
र ‘स्पेस’ हुन्न
वश् ! एकैखेप दोहोर्‍याउँछु !

‘‘म तिमीलाई प्रेम गर्छु !’’

यो कविता
मेरो एकतर्फी प्रेमको
चिहान हो
अब म तिमीलाई चक्कु हान्छु !