गुनासोको गड्तिर र नागबेली तमोर / सन्तोष थेबे
हरेक चैत बैशाखको खडेरीमा
कोइली कुर्लिरहेको बेला
मलाई टेकाइरहेको धरती
जब छातीभरिभरि चिरा पर्छ
म आकाशतिर टाँगिएर
गुनासोको मान्द्रोभरि बिस्कुनमा सुक्छु ।
हरेक असार साउनको भेलमा
खहरे उर्लिरहेको बेला
मलाई जगाइरहेको धरती
जब गर्भभरिभरि बीज छर्छ
म धरतीतिर घोप्टिएर
गुनासोको भर्लाभरि घुममा ओत्छु ।
यसरी गुनासोले नाम्लेजुका भएर
मसँग जिजीविषाको अल्पविराम साइनो गाँसेछ
मसँग विभिषिकाको पूर्णविराम काँडेतार टाँगेछ ।
गुनासोले कहिल्यै नभरिने
छपनीमा दुलो परेको यो मन
मानापाथीमा नभरिने यो चित्त
नून र मट्टितेलको ढाकर
गड्तिरमा रानीपौवा नपुग्दै
तोक्माले ढाकर नअड्दै
कसरी एक कान्ला फाक्टामा अँगालो हालेछु
नागबेली तमोरको आदिम कथा सम्झेछु
त्यसैबेला हो,
गुनासोका भरिया साथीहरु हो,
आकाशमा जूनघाम साक्षी छ
धरतीमा ढुङ्गामाटो साक्षी छ
मैले माटोको वास्तविक मोल र तोल देखेँ
मैले माटोको वास्तविक सौन्दर्य र ऐश्वर्य देखेँ
नागबेली तमोरको छातीमाथि आफ्नो सर्वाङ्ग रुप देखेँ ।
दुईपाथी नून पर,
एकटिन मट्टीतेल पर
छरपस्ट गुनासोहरुमाथि तुर्लुङ्ग झुण्डिएर
ढाक्रेसाथीहरु शोकमग्न छन्
एकमुठी माटो
दुईमुठी माटो
तीनमुठी माटो
अनगिन्ती माटोमुनी म तील भएर खुम्चिन्छु
म जौबारीमा जौ भएर लहराउँछु
थाहा छैन
भरीयाहरुले किन गोजीमा तील जौ खोजेँ
किन ढाकरमा गुनासाहरु घोप्ट्याए
नागबेली तमोरमा
मेरा एकजोडी आँखाहरु बगिरहेछन्
नागबेली गड्तिरमा
मेरा एक ढाकर गुनासाहरु वर्षायाम पर्खिरहेछन्