गुलाफका वंशज / अल्लामा प्रभू बेत्तागुरु / सुमन पोखरेल
ए, गान्धी हजुरबा,
हामी साँच्चैको प्रगतितिर लागेजस्तो देखिन्छ
तर हामीले चुप लाग्न वाध्य छौँ,
छडी उफ्रिन थालेको डरमा
टाउको नउठाउनु भनिएको छ हामीलाई।
आँखामा पट्टी लगाएर दौडिनु पर्दाको डरमा
हाम्रा गोडाले हामीलाई पुर्याएको ठाउँमा
नहेर्नु भनिएको छ हामीलाई
बाली भित्र्याएको सपना देखिरहनु भनिएको छ हामीलाई
ता कि अहिले अरूले भकारी भरिरहन पाउन् ।
हामी अभियानमा गतिशील भएझैँ देखिन्छौँ,
हाम्रो सम्पन्नता लोभपूर्वक फुल्दछ
विधवाको व्यभिचारी गर्भधारण भएर।
ए, गान्धी हजुरबा!
त्यो तपाईँको भूमि हो
त्यसैले तिनीहरूले तपाईँको शालिक ठड्याए
र तपाइँको जन्म भएको ठाउँमा
तिनले तपाइँलाई भगवान बनाए
तपाईँको मृत्यु भएको सुनिश्चित गर्नका लागि ।
तर, गान्धी हजुरबा,
केही पनि हराएको छैन
अहिले पनि त्यही भूमि छ
नढल्किएको पृथ्वी, नचोइटिएका ढुङ्गाहरू
र तपाईँको चिहानमाथि तिनीहरूले
राजगद्दी स्थापित गरे र
तपाईँको घरका भग्नावशेषमा
स्मारक बनाए
र हामी तिनीहरूको शासन हेर्दै
अझै बाँचिरहेछौँ ।
ए, गान्धी हजुरबा,
पिउन र बिर्सनका लागि पाएका छौँ
तपाईँले ल्याएको स्वतन्त्रता हामीले,
हामीले तपाईँको सत्य पाएका छौँ
तपाईँ मृत्यु भएको कसम खानका लागि
र प्रमाणित भएको छ तपाईँको अहिंसा
हामीले भेट्टाउने बन्दुकका गोलीबाट
र अहिले दिल्लीलाई राजधानी बनाउँदैछन् तिनीहरू
गाउँहरू नष्ट पारेर।
यी गुलाफका वंशजहरू
स्थापित गरिरहेछन् गुलाफ राजवंश ।