भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गुलाबी आकाश र एकदिन / विमला तुम्खेवा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


एउटा जीवन—
जो औसत मान्छेहरुको हूलमा
पानी–पानी भएर पग्लिरहेछ
पहाड भएर अग्लिरहेछ
तिमीलाई थाहा छ ?
कस्तरी ... ...
भीडहरुलाई छिचोल्दै–छिचोल्दै
मसम्म—
आइपुगेका थिए तिम्रा आँखाहरु
र, त्यसदिन आकाश पनि गुलाबी–गुलाबी थियो
दिन
शरीरभरिभरि विसङ्ग त खोपेर उभिएको छ

म—
सिंहदरबारको जेब्राक्रसमा उभिएर
सोचिरहेकी थिएँ
विगतमा—
यही चौरास्तामा उभिएर
कतिपटक मैले
लेखेर मेटाएथेँ हत्केलामा तिम्रा नामहरु ।
आफ्नो भनेर अनुभूतिलाई अँगाल्नु पनि
एउटा पहाड अग्लिनुरहेछ
एउटा समुद्र तर्नुरहेछ
आकाशजस्तै टिठलाग्दो
सपनाका क्षणहरुले
गुलाबी–गुलाबी भएर
परिवेशलाई बेहुली बनाइरहेका बखत
म—
सोचिरहेछु
साँच्चै ... ...
पानीको वेगहरुमा
सपनाको कुनै अर्थ हुन्नरहेछ
आफ्नो भन्नु आफन्त पनि आफ्नो हुन्न रहेछ
यही —
जेब्राक्रसमा उभिएर
मैले आज सधैँ–सधैँको निम्ति
मेटाइदिएँ मस्तिष्कबाटै तिम्रा नामहरु ।