भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गृहवुद्ध / विक्रम सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


गृहवुद्ध – १
सम्झना-मन्दिरमा आमाको दर्शन पाउँछु जसै
मुटुको चुम्बकले छातीमा टाँसेर मेरो गालामा
स्नेहको ओँठले छोएको न्यानो-न्यानो सम्झन्छु
धर्तीसमान विछ्याएको काखमा मलाई खेलाउँदा
मुमा-मुहारमा मुसुमुसु मुस्कानको ताराबाजी सम्झन्छु
कोमल कलेजीको कसौँडीबाट कंचन ममता, मेरो
तकदीरको थालीमा थपक्क थापेको सम्झन्छु
पर्देशलाग्दा बाटो-खर्च हालिदिने अञ्जुली सम्झन्छु
चिताएको पुगोस् भन्ने आमालु-मंगल-धुन सम्झन्छु
थकित पाइलामा फर्कँदा साँझ, मेरो सहस्रारचक्र<ref> शिरको टुप्पीमा अवस्थित बह्माण्डसँगजोडिएको (सातौँ) चक्र वा महान तन्तु जसको रंग सेतो वा गहुँ गोरो(Crystal) हुन्छ । यसै चक्रकोसहायताले हरेक मानिस ब्रह्माण्ड उर्जा (Cosmos energy) सँग जोडिएको हुन्छ ।
</ref>लाई
ब्रह्माण्ड-उर्जासित जोडिदिने कुशल हात सम्झन्छु
सम्झनामा मिस्सिएका आमाका अक्सिजन-सम्झनाहरू
घरकै निक्खुर पानी-माटोमा शान्ति-जमरा उमारिरहेछन्
आमाका औँलाबाट आज्ञाचक्र <ref>दुइ आँखाहरूको विच निँधारमा अवस्थित ज्ञानको (छैठौँ) चक्र जुन बैजेनी रंगको हुन्छ र जसलाई ज्ञानको केन्द्रविन्दु मानिन्छ ।</ref>मा अर्पित आशिष-अक्षताहरू
शान्ति-शेना भएर गौँडागौँडामा तैनाथ छन्, म चाहान्छु कि -
ममताको यही गृहवुद्धका वातीले तरवार-दीयो बालिरहोस् ।

गृहवुद्ध - २
पत्नी-प्रणयको पटकथा मगज-पर्दामा जसै उत्रन्छ
जवानी रोमान्समा खेलेको भूमिका सम्झन्छु
प्रतिक्षाका मोडमा सुनिईने सुकोमल-गीत सम्झन्छु
पिरती नाचेर नथाक्ने मारुनी-मनहरू सम्झन्छु
मुटु-कलेजोनै बाटिने बाहु-बन्धन सम्झन्छु
रैथाने-शास्त्रको ध्वनी गुन्जित मण्डपमा, तिमी
देवी प्रकट हुँदा चढाएको सिन्दुर-सुहाग सम्झन्छु
पुलिङ्गी-पाखुराका पोते-लच्छीहरूमा तिमीलाई
नारीमा पदोन्नति गरिदिने मंगलसुत्र सम्झन्छु
मधुमासका मदहोस करोड चुम्बनका अग्नी-तापले
स्वाधिष्ठानचक्र<ref> नाइटोको ठिक मुन्तिर अवस्थित यौन तथा संतान उत्पादन शक्तीको (दोस्रो) चक्र वा केन्द्र जसको रंग सुन्तले हुन्छ ।</ref>मा प्रेम-रस छल्काउँदै-उमाल्दै खाएको
जनम-जनम साथै जिउँने-मर्ने कसम-कबोल सम्झन्छु
ऋणको उजाड जमीनमा जोस-भरोसाको पर्खाल हालेर
गृहस्थी जीवन-शिलान्यास गरेको सम्झन्छु
नयाँघर-दैलोले उघारेको चोखो साईत टेकेर
खुशी-खुशी नारिँदै जोरजोर-पाउ-प्रवेश सम्झन्छु
स-साना-सुन्दरकौशी-गमलामा भएपनि, हामीले
आफ्नै मन-मायाहरू रंगिविरंगी फुलाएको सम्झन्छु
सम्झँदासम्झँदै तन्तुतन्तुका तानपुरामा, यो हृदय
राग-मधुवन्ती<ref>प्रणय र प्रितका मायालु रोमान्चक गायनको राग </ref>को आरोह-अवरोहमा झुमिरहेछ
अनाहतचक्र<ref> निसर्त प्रेमको (चौथो) चक्र वा केन्द्रविन्दुजसको रंग हरियो हुन्छ ।</ref>को कुण्डमा पिरतीका चरू जलिरहेछन्
पवित्र-प्रेम-छन्दका मन्त्रले रक्षा गरिरहेछन्,
र म चाहान्छु कि -
दाम्पत्य-जीवनमा ढलोट अटल-प्रेमको घरेलु गृहवुद्धले
अमन-चैनको शान्ती-संग्रामी घण्ट-बिगुल बोजाईरहोस् !!

शब्दार्थ
<references/>