भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गोत्रको हतियार / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जति कठिन थियो मलाई
मन्दिरबाहिर पूजाको थाली बोकेर उभिनु
त्यत्तिकै गाह्रो थियो उसलाई
किताबको झोला बोकेर
स्कुलको प्रार्थना सभामा लामबद्ध हुनु

प्रत्येक स्कुल जानुपर्ने बिहान
चोखो पानी ल्याउनु
पूजाको चौकी लिप्नु
फूल टिप्नु र सजाइदिनु बुबाले पूजा गर्ने देउताहरू
ऊ यसैलाई आफ्नो दैनिकी ठान्थी
‘जीवन यही हो’ उसलाई लागेको थियो

जब म उसको घरमा भित्रिएँ
ऊ सानी थिई
“स्कुल जाऊ” भन्थेँ म
ऊ मलाई आँखा तर्थी र भन्थी—
“मलाई सिकाउनु पर्दैन कसैले !”

ऊ त नन्दभन्दा बूढी सासुजस्ती पो थिई त !

कसले के गर्नु उसैको इच्छामा भर पथ्र्यो
कोही प्रतिकार गर्दैनथे उसलाई
भन्थे— घर समालेकी छे उसले...
उसको घरमा, म आफूलाई अयोग्य पाउँथेँ

मेरो वनबासको चौध वर्षपछि
सायद ऊ वनबास जाँदै थिई
एउटा नयाँ देउता उसलाई लिन आएथ्यो
जसलाई उसले सपनामा पनि देखेकी थिइन

रोई, बेतोडले रोई
बल्लतल्ल बिदा भएर गई
ऊ गएपछि पनि
घर ! घरजस्तै बाँकी थियो
तर किन किन लाग्यो, मन्दिरको ढुकढुकी भने उसैले लिएर गई

नयाँ घरमा कसरी बानी पार्ली
म उसलाई सोचेरै हैरान हुन्थेँ
कसलाई के भने चित्त दुख्दैन ?
कोसँग कसरी बोल्नु पर्छ ?
माइत र घरको अन्तर के हो ?
ऊ आफैमा मस्त प्रकृति !
अहँ उसले आफूलाई कहिल्यै यसका निम्ति तयारै पारिन

उसले लिप्ने चौकीहरू फेरिए
पूजा गर्ने सामानहरू फेरिए
धारा, कुवा र चुलो चौको फेरिए
सायद उसले पुज्नुपर्ने देवताहरू पनि फेरिए
र फेरिएर चिसो भयो उसले श्वास लिने वायुको स्पर्श पनि
तर कहिल्यै फेरिएन उसको मन र मनभित्रका आस्थाहरू
जताततै हुर्किन नसक्ने बुद्धचित्तको विरुवाजस्ती ऊ
नयाँ बोधिप्रदेशमा अझै सर्न सकेकी थिइन

ऊ आउँथी तर कहिल्यै पराई नभएर
ऊ उसरी नै समाउथी पूजासामा
उसरी नै सिँगार्थी देवताहरू
अरूले “माइतीको काम” भनेर गिज्याउँथे
अहँ, उसलाई केही फरक पदैनथ्यो

त्यसदिन पनि
उसले पोतेकी थिई पूजाको चौकी
सजाएकी थिई देवताका लागि मन पर्ने सामग्रीहरू
चोखो पानीको घल्चा छेउ
हात जोडेर पहिलेजस्तै उभिएकी थिई

पण्डितले भने—
“नानी ! तिमी अलग्गै बस,
माइतीको गोत्रमा मिसिएर
तिमीले पूजा गर्न मिल्दैन...!”
पूजाकै निम्ति भोकै बसेकी ऊ
अकस्मात् फुके उसका जोडिएका हत्केलाहरू
खसे फूल र अक्षताहरू
यति अन्यमनस्क भएर त कहिल्यै हेरेकी थिइन उसले मलाई
सायद सोचिरहेकी हुँदी हो
यो भन्दा म कसरी फरक भएँ यो घरको लागि !

उसले लिपेको चौकीमाथि
पहिलेजस्तै शान्त थिए देवताहरू
उसले बालेको धूपबाट उस्तै मिठो सुगन्ध चलिरहेथ्यो
मात्र ऊमाथि प्रहार भएथ्यो,
गोत्रको हतियार
र, ऊ
पहिलोपटक उठ्नै नसक्नेगरी घाइते भएकी थिई !

०००