घरको माथिल्लो तलामा / गुलजार / सुमन पोखरेल
घरको माथिल्लो तलामा कोही बस्दैन अचेल।
कयौँ दिनदेखि बन्द छन् ती कोठाहरू
चौबीस खुड्किला उक्लिएपछि माथि पुगिने
जुन भर्याङ् थियो
माथि पुग्दैन अचेल।
घरको माथिल्लो तलामा कोही हुँदैन अचेल।
यति भने सम्झना छ मलाई
त्यस कोठामा एउटा पुरानो डालाभरि खेलौनाहरू राखिएका थिए
तीमध्ये धेरैजसो त
बोक्दा, फ्याँक्दा र राख्दाराख्दै टुक्रिएर सकिए।
त्यहाँ एउटा चौडा कौसी थियो,
जहाँ बेतको एउटा पिङ झुन्डिएको थियो।
मेरो साथी एउटा सुगा हरेक दिन आउँथ्यो
र म त्यसलाई हरियो खोर्सानी ख्वाउने गर्थेँ।
त्यसैको अगाडिपट्टी छत थियो
जहाँ बसेर एउटा मुजूर
रातभर आफ्नो चुच्चोले आकाशका गुलिया तारा टिपिरहन्थ्यो।
ती केही देख्दैनन् मेरा छोराछोरीहरू
तल्लो तलामा बस्छन् उनीहरू
जहाँ एउटा पियानो राखेको छ,
पुरानो पारसी स्टाइलको.
फ्रेजरसँग किनेको,
तर अलि बेसुरा अवाज निकाल्ने भएकोछ अचेल।
त्यसका सबै रिड हल्लिन थालेका छन्,
सुरमाथि अनेकौँ सुरहरू खापिएका छन्।
त्यस तलामा एउटा पुर्ख्यौली बैठक कोठा थियो
जहाँ पुर्खाहरूका फोटाहरू टाँगिएका थिए
म सोझ्याइरहन्थेँ,
हावाले बङ्ग्याइरहन्थ्यो।
क्लिसे जस्ता लाग्दथे बुहारीलाई
जुँगा पालेका ती सबै पुर्खाहरू।
अन्तत: झिकिदिए छोराहरूले सबैलाई काँटीबाट
र सुरक्षितसँग राखिएको छ तिनलाई अहिले
थोत्रा पत्रिकामा बेरेर।
मेरा भान्जा लग्ने गर्छन् फिल्मका लागि
सेटमा लगाउँछन् कहिलेकाहीँ,
भाडा आउँछ त्यस बापत।
एउटा पाहुनाकोठा छ, मेरो घरको अगाडिपट्टी।
त्यहीँ बस्ने गर्छन् मेरा नातिहरू
अमेरिकाबाट आएका बेला।
अलगअलग आकारमा आउँछन् तिनीहरू आएपिच्छे
दैवै जानोस् तिनीहरू नै आउँछन्
कि हरेकपल्ट कुनै अर्कै आउँछ।
पछिल्तिरबाट बन्द त्यो बत्ती नबल्ने अर्को कोठामा
एउटा रोजरी राखेको छ,
जसले गर्दा मगमगाइरहन्छ त्यो।
त्यहाँ ती धाई बस्थिन्
जसले यिनै तीनवटा केटाकेटीलाई हुर्काउनमा
बिताइन् आफ्नो पूरा उमेर।
मरेपछि गाड्न लगाइनँ मैलै
सुरक्षित गरेर राखिदिएँ तिनलाई।
त्यसपर्तिरका खुड्किलाहरू ओर्लिँदा
तल त्यस छिँडीमा पुगिन्छ,
जहाँ चम्किरहेछ मौनता।
र छेउमा अलिकति ठाउँ छोडेर निदाइरहेको छ आराम।
तल ओर्लेका बेला
आफ्नो हातको सिराने लागाएर
त्यसकै छेउमा निदाउन सकूँ म भनेर।
...................................................................
इस कविता का मूल हिन्दी पढ्ने के लिए यहाँ क्लिक करेँ ।