Last modified on 25 जून 2020, at 11:27

घाइते अचेल जिन्दगानी भएको छ / विवश पोखरेल


घाइते अचेल जिन्दगानी भएको छ
रगत खोलाको पानी भएको छ।

हिंसामा कठोर ढुङ्गा भएपछि मुटु
पीडा सहने अनौठो बानी भएको छ।

डढेलो लागेको जङ्गल भएको छ देश
एकाएक सपना डढेर खरानी भएको छ।

भत्किएर सद्भाव – हराएर मानवता
एकादेशको अनौठो कहानी भएको छ।

सत्तालिप्तहरू भागबन्डामै व्यस्त छन्
देश आँसुले रुझेको सिरानी भएको छ।