घाटमा एउटा साँझसँग / खुमनारायण पौडेल
(मलाई हुर्काउने आमालाई)
भग्न छु
शोकमग्न छु
यसबेला मलाई कोलाहलको सट्टा
एकान्तको सानो परिवेश देऊ
केही कुरा गर्नु छ यो साँझसँग
समयले निर्मम उधिनेका
पीडाका चपरीहरु
र नियतिले दिएर गएका आघातहरुसँग
भग्न छु
शोकमग्न छु
केही बोल्न सकिरहेको छैन यसबेला
मलाई भक्कानोको सट्टा आवाज देऊ
केही भन्नु छ मैले यो चितासँग
डढिरहेको छाती र हातहरुसँग
सम्पूर्ण ममताको दुबो पोल्दै गइरहेका
आगोका अठोटहरुसँग
भग्न छु
शोकमग्न छु
केही देख्न सकिरहेको छैन यसबेला
यी आँसुहरुको सट्टा दृष्टि देऊ
केही अन्तिम हेर्नु छ दाउराहरुसँग
नदीको पानी र बगरसँग
धुवाँ र दावानलसँग
भग्न छु
शोकमग्न छु
यसबेला मलाई यी शब्दहरुको सट्टा
अलिकति विश्वास देऊ
मेरा विश्वासहरु आज हराएको बेला
एउटा वास्तविकता स्वीकार्न सकुँ
कि–
म शव समक्ष छु
म घाट समक्ष छु
म आगो समक्ष छु
दिनसक्छौ भने
कृपया मलाई यसबेला
एकान्तको सानो परिवेश देऊ
भग्न छु
शोकमग्न छु