भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

घैंटोभित्र वटवृक्ष / भूपी शेरचन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

साँघुरो घैंटोभित्र माटो जमाएर
उमारिएको वटवृक्षझैँ
मैले आफ्ना दुइटा हाँगाहरु फैलाएँ
र म ओइलाए
आफ्नो वरिपरि निसास्ंिसदो पर्खाल पाएर
अनि मैले मुक्त वायुमा सास फेर्न ठिङ्ग उभिएका
आफ्ना पाँच नाङ्गा औँलाहरु पट्याएँ
प्रकाशनको खोजीमा दगुरेका
आफ्ना हस्तरेखाहरुलाई पछाडि फर्काएँ
र अब म आफ्नै मुट्ठीभित्र बन्द छु
आफ्नै कठोरताभित्र कैद छु
तर कुनै दिन
तिमीले चिन्न सके आफूभित्रको बतासलाई
र प्रकाशलाई तिमीले
जान्नेछौ कि बाहिरबाट जतिसुकै
कठोर भएपनि भित्र–भित्रै
म कोमल छु
यो बन्द मुट्ठीभित्र हत्केलाझैँ!
(२०१८–शारदा)