भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

घोडा दौड / सीमा आभास

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


घोडेजात्राको दिन टुँडिखेलका घोडा छाँदेर
जानुछ, महाराजाका ढोकासम्म ।

देखाउनुछ, लट्टा परेको कपालको चुल्ठो
सुनाउनुछ, वर्जित शब्दहरु एक–एक गरी
हेर्नुछ, बादलका गुजुल्टाहरु पन्छाएर
कहाँबाट, कसले झार्दो रहेछ ममाथि चट्याङ ।

घोडाको पिठ्यूँमा उभिएको, म हुँ नाङ्गो अवतार !

भगवानको नग्न तस्बिर
छातीमा टाँसेर धर्म नमान्न पनि सक्छु
नसक्न सक्छु, धर्मले डढाएका मेरा औँलाहरु काटेर
ममाथि लेखिएको इतिहासलाई ढोग्न ।

दायाँ खुट्टो कानूनको कुममा
बायाँ ईश्वरको कुममा राखेर
जानुछ, इतिहास सजाइएको सङ्ग्रहालय
त्यसको ढोकैमा झुन्डिएको तस्बिरमा
मेरै जस्तो केरमेट अनुहार कसको हो ?

बौलाहाजस्तै देखिने श्रीपेच महाराजलाई नाघेर
टुँडिखेलका घोडामा बसी पार गर्नुछ भद्रकाली
घुम्नुछ, उपत्यकादेखि गोरखा दरबारसम्म ।

यिनै घोडामा चढेर चोभारको गल्छेँडोसम्म पुगी हेर्नुछ
कस–कसका अनुहार बगाई ल्याएको छ, यो पानीले ।

स्वयम्भूको टुप्पामा उभिएर, सोध्नुछ
‘मञ्जुश्री ! कहाँ छ चोभार काट्ने तिम्रो खड्ग ?’

आज मलाई चाहिएको छ, त्यही शक्तिशाली हतियार ।

हतियार खोज्दै हिँडेको म
आइपुगेको छु नाङ्गा मूर्तिअगाडि
यही बेला चक्रपथमा देखाइदिनुछ
नाङ्गो परिक्रमा, नाङ्गो उत्सव !

यो नाङ्गोपन हेरेर लाज नमानून्
बाटो हिँड्नेले, जून–ताराले
दरबार र मूर्तिहरुले
जेल र न्यायालयले
यहाँका तीर्थधाम र पवित्र नदीहरुले ।
यी घोडामा चढेर फेरि पुग्नुछ, महारानी र राजकुमारी
पस्ने–निस्कने ढोकामा कुँदिएको नागराजाको चित्र हेर्न ।

जान्नुछ, यी ढोकामा लाउने आग्लो कस्तो थियो ?
गोल्चे र खरमस कसले बनाएको थियो ?
यी साँघुरा ढोकामाथि चम्मरमा झुन्डिएको केश कसको हो ?
श्रीपेचमा जडित हीराहरु कसका आँसु जमेर बनेका हुन् ?
सुत्केरी महारानीहरु हो !
समात लगाम ! सहरको मस्तिष्क थर्कने गरी कुदाऊ घोडा
कुमारीजात्राको दिन टुँडिखेलमा लहरै उभिएर हेर
के–के लेखिएको रहेछ रगतको मसीले हाम्रो निर्वस्त्र शरीरमा ।

यी भव्य दरबारका भित्ता कसका मयलले टल्किएका हुन् ?
नारायणहिटीको पर्खालवरिपरि घुम्ने मृतात्मा कहाँका हुन् ?

कुदाऊ घोडा आर्यघाटतिर
नङ्ग्याएर चितामा ओछ्याइएपछि
गुहार माग्दै भागेका सतीहरुलाई
बर्साएका ढुङ्गाहरु कुन–कुन हुन् ? चिन ।

ए पार्वती माता !
यही बेला नाङ्गै उत्र पशुपतिमा
र, उघार तेस्रो आँखा ।
शिवरात्रिको दिन भाङ्ले बेस्मारी मातेर
कराउँदै भन मेरा दौँतरीहरु
ए भस्मदेव ! चढ घोडाको ढाडमाथि
कुद इतिहासको सुरुङतिर ।

फलोफुलो कह, ए देवका देव !
के–के देखेका छौ हिजोदेखि आजसम्म ?