चक्रपथ / स्वप्निल स्मृति
सिंहदरबार,
टुँडिखेल, कोतघर, खुलामंच...
र सरकार
चक्रपथ भित्र छ ।
चक्रपथ भित्र
मालिक स्वीकारेर ढोग गर या
सम्झ सार्वभौमसत्ता सपन्न नागरिक
त्यहाँ
ईतिहासमा कालो रगत र
पसिनामा दुर्गन्ध बगाएर
स्थापित छ
नयाँ जङ्गबहादुरको सालीक ।
चक्रपथ भित्र नेपाल छ
चक्रपथ भित्र प्रजातन्त्र छ
सरकारी रेडियो ढाँटिरहेछ
टेलिभिजन पर्दामा
प्रधानमन्त्री कन्याइरहेछ कुर्सी-भिरिङ्गी ।
चक्रपथभित्रबाट
कलियुगको पुष्पक विमान उड्छ
आदिम युद्ध-यौवना बोकेर
कुनै बिदेशी आकाशमा झैँ
चक्रपथबाहिर आक्रमण गर्छ ।
चक्रपथबाहिर नेपाल छ
विश्वकै अल्को
गरीबीको सगरमाथा छ
भासिएको सेतीजस्तै गहिरो
दु:खको खोँच छ
महेन्द्र राजामार्ग छ रङ्गिन आतङ्क दगुरिरहेको
विद्रोहको अग्लिँदो पहाड छ
क्रान्तिको मनसुन ओर्लिरहेको...
चक्रपथबाहिर
शान्तिको आकर्षक चिता लुम्बिनी छ
चक्रपथभित्र
हिंशाको उद्गम थलो पटाङ्गिनी छ
चक्रपथबाहिर
लिम्बुवान छ, थरुहट छ, खम्बुवान छ, तमुवान छ
चक्रपथभित्र चाँही
यिनीहरुले नमानी नहुने भगवान छ
चक्रपथभित्र घण्टाघर छ
जहाँँ आयु उफ्रिरहेको छ-
मेरो, सैनिक अफिसरको अनी स्वयं घण्टाघरको
चक्रपथबाहिर आर्यघाट छ
त्यो चुपचाप बागमती नदीको किनारमा छ
खुँखार आतङ्ककारीलाई प्रतिक्षा गरिरहेको...
चक्रपथ
कोरिएको छ रगतले धर्सा... धर्सा...
दुई शत्रुवत मुलुकको सिमा भएर
मित्र ! चक्रपथबाहिर कि भित्र ?
एउटा सङ्गीन प्रश्न
चक्रपथ वरिपरि घुमी रहेछ ।