चतुरी नायिकाको मधुर स्वाङ / केशवनाथ शर्मा पौडयाल
रातका समयमा दिइ धोका- बन्द पारिकन झ्याल र ढोका ।
आवरुकन लिनू अबलाको काम होइन हजूर ! भलाको ।।१।।
हेर कत्ति डर लाज नमानी, हत्तपत्त उठि बाहुलि तानी ।
ढेस्सिदै नगिचमा अझ यस्तो, बोलने बचन छी: मन कस्तो ।।२।।
गर्नुहुन्छ किन यो म जनाना-माथि जोरजुलुमीपन नाना ।
विन्ति भन्छु पर जानुहवोस, आउला पछि विनाहक दोष ।।३।।
झ्याम्मियेर यसरी भइ साख, खोजने हजुर छी: किन काख ।
कत्ति चित्त परदैन मलाई, यो कुरा हिंउदछू अबलाई ।।४।।
एकली छु बिचरी म अजान, छैन कोहिसितको पहिचान ।
स्वाङ पारि सँगिनि पनि भागी, को भनीकन बसूँ चुप लागी ।।५।।
भेट भो न कहिले नत बात, आफुलाइ न त याद छ आँत ।
हत्तपत्त पहिल्यै भनि ‘प्यारी!’ तान्नुहुन्छ किन नाहक सारी ।।६।।
छी: हजूर ! यसरी अबलाई, बिन्ति भो ! नछुनुहोस मलाई ।
जाइजान्छु घरतर्फ नबोली, आँउला म दिउँसो बरु भोली ।।७।।
एकली छ भनि मनपरि बोली, चोलि खोलिकन हुर्मत पोली ।
तंसिने अधरको रस खोजी, कत्तिको छ छिचरो मनमोजी ।।८।।
लिन्न नोट रुपिया पनि लिन्न, ओठ दागन मरे पनि दिन्न ।
गाल पर्छ यसले पछिबाट, गर्न शक्तिन हजूर म आँट ।।९।।
व्यर्थ आज बिचरी म ननीका, जालका बिच परी संगिनीका ।
बाँधियें इज्जत भो बरबाद, मेटिदैन अब यो अपवाद ।।१०।।
यो जुलुम सहन शक्तिन सत्ते, भाग्दछू अब म बस्तिन सत्ते ।
जाइजान्छु नगरीकन हौरा, लौ न जल्दि दिनुहोस पछयौरा ।।११।।
जानदीन म कुनै रस-रङ्ग व्यर्थ भो हृदय गैह्र जुरुङ्ग ।
ओडछू म कपडा दिनुहोस, प्रार्थना हजुर ! यो लिनुहोस ।।१२।।
जिस्किदा सब चुराहरु रन्के, बातले पनि दिशा सब घन्के ।
पाउलान अरु मानिस चाल, पार्नहुन्छ किन छी अबगाल ।।१३।।
हेर गाजल सबै पुछियेछ, हार यो हृदयको चुँडियेछ ।
छी: हजूर ! सब भो बरबाद, गर्नु हुन्न किन क्यै पनि याद ।।१४।।
व्यर्थ इत्र घसने निहु पारी, चोलि खोलिकन हात घुसारी ।
छी: हजूर ! नछटाउनुहोस, लाजले भइशके म बिहोश ।।१५।।
अय्य अय्य अय कोमल गाला, चिम्टि व्यर्थ गरने अति हाल ।
यो कुरा मकन लाग्दछ झर्का, बानि विघ्न छिचरो छ हजुरको ।।१६।।
स्वाङ पारिकन काकुति लाई, गर्नुहुन्छ किन दिक्क मलाई ।
बिन्ति छाडिदिनुहोस् हजुर ! आउँला पछि पनी म जरुर ।।१७।।
छिद्र खोजि घरका परिवार, छन सबै मकन मार्न तयार ।
भैशकेछ अरुणोदयवेला, पर्दछु म नगये अब फेला ।।१८।।
हत्तपत्त उठि टप्प अँगालो, हालि जोडिकन निर्भय गालो ।
लाज शर्म नलिईकन हाँसी, गर्नुहुन्छ किन यो बदमासी ।।१९।।
मात्तियेर कपडाहरु तानी, जोर जुल्म गरदा मनमानी ।
देहमा बढनगो अति गर्मी, छी: अहो ! हजुर विघ्न निशर्मी ।।२०।।
ढेस्सियेर यसरी ढसमस्स. हाँसिहाँसिकन निर्भय खिस्स ।
स्वाँङ् पारिकन हुर्मत फाली, जिस्किने हजुर ! छी: कति जाली ।।२१।।
गैह्र फालिकन छाप सितारा, तानि खोलि कपडा पनि सारा ।
मन्परी गरनलाइ म दिन्न, विन्ति लाज यसबाट रहन्न ।।२२।।
जिस्किदा नगेरि क्यै पनि याद, केश-पाश सब भो बरबाद ।
यो कुरा गरनुहोस विचार, पर्छ नत्र पछिबाट बिगार ।।२३।।
अंगराग न रह्यो न त लाली, वस्त्र हार न कुनै रस-शाली ।
गिज्जियेर सब फालिदिनुभो, छी: हजुर ! अति पाप लिनु भो ।।२४।।
देह यो तर भयो पसिनाले, अंग फेरि सब काँपन थाले ।
भेष छैन अघिको अबलाई, निस्कनै कठिन हुन्छ मलाई ।।२५।।
कोरि बाटिकन केश बनाई, वस्त्र छाप गहना सब लाई ।
जान्छु जल्दि घरमा खुशिसाथ, फेरि सुन्दिन कुनै अरु बात ।।२६।।
जानुहोस पर छी चुपचाप, दिन्न पाउकन लाग्दछ पाप ।
गर्नुहुन्छ किन दिक्क मलाई, माफ होस म हिंडे अबलाई ।।२७।।
(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)