भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

चप्पल / विमल निभा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


धेरै दिनपश्चात् मलाई
स्मरण भयो बाबुराम भट्टराईको
कुन्नि, कहाँ छन् कहिले उनी
र यहाँ म आफ्नो
चुँडिएको चप्पलको फित्ता
सिलाउन खोजिरहेछु यस बखत
यही चप्पल धारण गरेर खुट्टामा
पुग्नु छ मलाई कार्यक्षेत्र
अखबार कार्यालयमा
(आज फेरि बिहीबार हो)
र गर्नु छ थुप्रै–थुप्रै काम
मलाई पूरा गर्नु छ लेख
(जो मेरो ड्रअरमा अधुरै बन्द छ)
खोज्नु छ राजनीतिको जङ्गलबाट
ताजा समाचारहरु
र लेख्नु छ पेट्रोलियम पदार्थको
मूल्यवृद्धि भएकोमा
एउटा सम्पादकीय जोडदार
अन्त्यमा सबै कामहरु सिध्याएर
फर्कनु छ बेलुकीपख घर
जहाँ मेरो प्रतीक्षा भरहेछ अधैर्यपूर्वक
(एउटा पति र पिताको
प्रतीक्षा भइरहेछ त्यहाँ)
आजैको एक–दुई खबरकागत
र चूरचूर थकान झोलामा बोकेर
जब म फर्कनेछु हतार–हतार
पीपलबोटनेर भेट हुनेछन् मेरा कवि मित्रहरु
र सोध्नेछन् मसँग उनीहरु–
के खबर छ सम्पादकजी ?
म भन्नेछु उत्तरमा–
ठीकै छ
देशमा संसद् र लोडसेडिङ
दुवै एकसाथ चालू छ
कांग्रेस सरकार भित्र छ
र बाहिर माले र एमाले उभिएका छन्
सर्वत्र संक्रामक कीटाणुहरु
बढेका छन् वेगले
कराइरहेका छन्, पहेंला भ्यागुताहरु
शीतघरमा थुपारिएको
आलुको भाउ दोब्बर भएको छ
र आजै बिहानै चुँडिएको छ
मेरो चप्पलको फित्ता
मेरो कुरा सुनेर
कवि मित्रहरुले प्रस्ताव राख्नेछन्–
ल त भइजाओस् एक–एक कप चिया !
तर सधैंझैं ‘कवि कर्नर’मा चिया खान
मलाई मन हुनेछैन
अबेर हुनेछ आज मलाई
यो निश्चित प्रायः छ
(सूर्य ढल्नेछ
रात पर्नेछ)
किनभने बीचबाटामा चुँडियो
मेरो चप्पलको फित्ता
(निकै पुरानो भएर थोत्रिइसकेको छ यो)
र मलाई स्मरण भयो हठात्
कमरेड बाबुराम भट्टराईको
जो कतै व्यस्त छन् जनयुद्धमा
र म आफ्नो चुँडिएको चप्पल
लतारेर सोचिरहेको छु–
जस्तो कि अन्य थुप्रै छन्
म एक सामान्य मानिस हुँ
खबर र कविताहरु लेख्ने
र चिया खाएर दगुर्ने
अर्थात् इमानदारीपूर्वक र सश्रम
हाँस्ने र रुने एक कामदार
(असामान्यता केही छैन मसँग)
के म जनयुद्धमा सामेल छैनँ कमरेड ?