भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
चरखण्डीको खोंच / युद्धप्रसाद मिश्र
Kavita Kosh से
					
										
					
					
लहलह पल्लव हरित लताको,
छाया स्वर्गिक शीतल रुखको,
कुञ्ज छ मन्दिर चिडियाहरुको,
कलकल गान छ निर्मल जलको ।
		१
	गिरिको गहिरो-अन्तर-तट छ,
	जल यो छलबल छलबल चलछ,
	यो छलबलमा रुखको हरियो,
	छाया तिरिमिरि तिरिमिरि छरियो ।
		२
निर्मल जलको पतला सारी
टलपल टलपल सर्र लतारी,
कोमल झ्याउ, पत्थर हरिला,
सज्जित जलको चोली हीला ।
		३
	कहिले वारी, कहिले पारी,
	फर फर उड्दै पंख फिंजारी,
	बनन विहङ्गम बारमबार,
	निर्मल जलको रंगिन हार ।
		४
चरखण्डी यो सुन्दर छाडी,
झटपट झटपट व्यर्थ अगाडी,
काइ परेका चिपला पत्थर,
बाट झर्यौ  किन झरझर झरझर ?
		(‘शारदा‘ बाट)
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक  पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)
 
	
	

