भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

चर्को घाममा एक थोपा शीत / लक्षन्था अथुकोराला / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

वनको छानामाथि हरेक दिन खस्छ वर्षा
उज्यालो त्यहीँ उब्जिए पनि
एकदुई थोपा मात्र चुहिन्छ पातहरूमा
र तप्किन्छन् विशाल गोलाइका वृक्षका गोडाछेउ ।

एक्लाएक्लै हुर्किरहेका भीमकाय रुखमुनि
बुट्यानहरू छन्, झुरुमुट्ट – तर नबढेका,
जमिनको माटासँग टाँसिएका
हिलाम्य काँडे माटामा डुबेका ।

हृदयको घाउको चोट
मुस्कानको पछ्यौराले छोपेजसरी
वनको निन्याउरो भूईँ
छोपिएको छ नबुझिने घुर्मैलो छायाले ।

वास्ता नगरेका ससाना कीराहरू,
होचा बुट्यानहरू, छोटा झारहरू
हरियो घाँसे मैदानका बीचैबीच,
कहिल्यै अग्लिँदैनन् जो
त्यसभन्दा ठूलो हुने गरी!

प्रेमी चराहरूको प्रेम
र रूमानी बतासको चुम्बन बिना पनि
फुलिरहेछन् फूलहरू
वनमुनिका बुट्यानहरूमा ।

बाटो बिर्सिएका प्रकाश झर्नुपर्छ तिनीहरूमाथि
आकाशका दुई आँखाबाट
घामको चाक्ला र
रुँदै गरेको जूनबाट।

हिले खाल्डा छलेर पन्छाउँदै पीडाहरू
घस्रिहेको सर्पजसरी
बगिरहेको नदीजसरी
घुम्दै र मर्किँदै
फेर्दै आवर्तनको नियम
खस्नुपर्छ घामका किरणहरू ।