चार साना कविता / दुर्गालाल श्रेष्ठ
घरमूली
भेट्न भनी उसकोमा जान्छु
पुग्छु त्यहाँ तर ऊ हुन्न
मान्छे छन् तर घरमा घर नै
छैन कि झैं कस्तो शून्य
ऊ नहुँदाको यो क्षण सहसा
बुझ्छु म उसको कति मूल्य
ऊ त अहो यो घरकै रै'छ
औँठीबीचको मणितुल्य
देख्दैछु
देख्छु चरा उड्दै छ संवेग
खोला कुद्दै छ
तृणतक आफ्नो सङ्घर्षैमा
अविरल जुट्दै छ
जति सुनामी हुँडुली आओस्
जति गरोस् संहार
संसार त झन् नित्य नवल भै
उठ्दै-उठ्दै छ
चिता बोल्छ
भन्छ चिता, "जो विधिवत् मर्छ
उसको हूँ म निवास
किन्तु म धेरै मुर्दा देख्छु
फेरिरहेको श्वास
जानाजान अकालै मर्ने
यी हुन् प्रेताकार
जीवित क्यै छ त यिनको ज्यूमा
केवल छ अहंकार"
प्रार्थना
आँखा खुल्नासाथ म देख्छु
कति सुन्दर संसार
श्रद्धानत भै अर्पण गर्छु
ईश्वरप्रति आभार
ईश्वरसँग मन पुग्दछ माग्न
थाहै हुन्न किन-
'सुख दिन नसके पनि जगलाई
नपरोस् दुःख दिन'