चिठ्ठी / बदरीनाथ भट्टराई
१
श्रीमान् माथ्वरसिँह प्रेम मनमा उर्ल्यो तिमीमाथिको
मिल्दा स्पन्दन पत्रमा हदयको छापा सबै छापियो
के सन्चो छ, मन प्रसन्न छ त्यहाँ सम्झिन्छ नेपाल के?
तिम्रो अन्तर सूक्ष्म दृष्टिपथमा दोषी छ राजेन्द्र के ?
२
दायाँ हात उछिट्टियो यदि भने तिम्रो सबै काममा
बाधा हुन्न र के?विचार गर त्यो सारा कुरा चित्तमा
मेरो हाल पनी त्यही छ अहिले छोड्दा तिमीले यहाँ
बायाँको भर पर्नु खालि जनले सद्बुद्धि भन्थ्यो कहाँ ?
३
सीधा चुम्बक शक्तिमा छ दुनियाँ साँच्चै अडेको तर
केले दक्षिणतर्फ तानिन गयौ छोडेर यो उत्तर?
या शौर्यन्नत धीर वीरहरूले दायाँतिरै तानिने
विस्तारो परिवर्तन प्रकृतिको हो यो कतै मानिने!
४
हो यो भारतको किरीट यसमा हीरा तिमी तुल्यको
जड्दा इज्जत बढ्नजान्छ जडिने जड्ने दुवै वंशको
सत्कर्तव्य भुली स्यमन्तक लगी पारेर टुक्रा पनि
जड़नाले यदि पाउजेबहरूमा के स्वाउला त्यो मणि !
५
चल्ला नाउँ त्यहाँ पनी किनभने वीराग्रणी छौ तिमी
चाँडै नै हुन सक्दछौ लखपती, होवैन केही कमी
नेपाली इतिहासको तर कुनै ती पृष्ठका पंक्तिमा
क्यै स्वर्णाक्षरले हुनेछ रङिने तिम्रो यही नाउँमा ?
६
ए देशप्रिय भक्त, अन्ततिरका मेवा र मिष्टान्न ती-
भन्दा आदर गर्नुपर्दछ यिनै फाँडोहरुका प्रति
पाई साधन काखमाथि जसको हामी बन्यौं मानव
के त्यागेर कृतघ्न नै भइदिने ती मातृभूमी अब ।
७
पाँडेको कुलले लिई शिशिरता पर्दा तुषारो जुन
बाधा थ्यो अब त्यो हट्यो तपनको पाइन्छ न्यानोपन
फिर्थ्यो किन्तु कहाँ वसन्त पिकको निम्ता नपाईकन
तस्मात्, जङ्गबहादुरै पनि पठाएको छु ऐल्हे लिन ।
८
भारी बादलको गरेर नभमा चिच्याउँदै प्रार्थना
त्यो काकाकुल सिद्ध गर्छ सहजै आफ्नो कडा कामना
तिम्रो शुद्ध र सावधान मनमा मेरो पनी आग्रह
रोप्दा वृक्ष बनेर पुष्परसको मिल्नेछ मीठो मह ।
९
यौटा मेट्न कलङक छैन सजिलो ती चन्द्रमा छन् अझ
दागी स्पष्ट दिनैपिछे जलधिमा गर्दा पनी मज्जन
आएनौ त भने कलङ्कित हुँदा स्वर्गै गए तापनि
देशद्रोह्रक हो भनेर सुरले कानेखुशी गर्छ नि ।
१०
छायेको खरले गरीब झुपडी सानो छ आफ्नो भनी
अर्कोको दरबारमा यदि गई बस्दा भर्याङैमनि
के होला सुखशान्ति नित्य बरु त्यो उत्साहलाई लिई
आफ्नो वास उही सजाउन सके फिर्नेछ ठाडो भई ।
११
छैनन् मेघहरू खुला अब दिशा देखिन्छ चारैतिर
पर्दा कान्ति हिमालमाथि रविको झल्किन्छ झन् उत्तर
त्यस्तोमा पनि बज्र कड्कन गई होला नि बाधा भनी
शङ्का गर्नु त भूल हो किनभने लेखिन्छ सच्चा बनी ।
......................................................
भारती, ५|।६, मंसीर २०१०
(राजेन्द्रबिक्रम शाहले माथवरसिँहलाई वि. सं. १८९९ को अन्तमा लेखेको चिट्ठीको आधारमा ।)