भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

चियर गर्ल र जुलुसका अनुहारहरू / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

रङ्गशालाको माथिल्लो प्यारापिटमा उभिएर
हेरिरहेछु क्रिकेट म्याच र
सोचिरहेछु

यो अल्पविकसित देशमा
कहाँबाट भित्रिए यी चियर गर्लहरू ?
कहाँ छ यिनको आदिवासी भूगोल ?
हैरान छु यिनका हर्कतहरूसँग !

पिचसम्म पुग्ने स्वीकृति छैन यिनलाई,
अलिकति ठाउँ दिइएको छ
हातगोडा चलाउनका लागि,
मैदानमा पस्न हुँदैन भनिएको छ
र, पस्ने हैसियत राख्नै पनि डराउँछन् यिनीहरू !

छन्छनाइरहेछन् यिनका हातमा
अझै केही दर्जन साङ्लाहरू,
यिनलाई क्रिकेट बलसँग डर लाग्छ,
र,
तोकिएको ठाउँ छोड्न पनि डराउँछन् यिनीहरू,
मेनिकियर गर्न लगाइएको छ
र, आफ्ना हातलाई निकै नाजुक,
निकै कमजोर ठान्छन् यिनीहरू !

के माक्र्सको सिद्धान्तमा नअटाएका
उत्तरमाक्र्सवादका अङ्गवस्त्र मात्र हुन् यिनीहरू ?
वा पुँजीवादको अर्को एउटा अनुहार हुन् ?
कसलाई थाह होला,
यिनको श्रम खरिद भइरहेछ या सौन्दर्य ?
नियति बिक्री भइरहेछ कि कला ?

भोकको वैश्विक अर्थमा
मान्छेका अनेक अतृप्ति बढाउँछन् चियर गर्लहरू,
आम दर्शकहरूका माझ
यिनीहरूको उपयोगिता के होला ?
खेलाडीहरूका निम्ति यिनीहरूको आवश्यकता कति होला ?
कसलाई थाह होला यो उत्तरऔपनिवेशिक संस्कृतिमा
चियर गर्लको वाद कुन हो ?
र, यिनीहरूको अपवाद को हो ?

प्रत्येक चौका र छक्कासँगै उफ्रिरहेछन्
यी नयाँ रूपका पुराना अवर्जनहरू
तर कतै पुगिरहेका छ्रैनन्,
सम्पूर्ण शक्तिले चिच्याइरहेछन्
तर कहाँसम्म पुग्दो हो यिनको आवाज ?

रङ्गशाला बाहिर पर सडकमा,
उफ्रिरहेछन् जुलुस र,
कुर्लिरहेछन् आफूलाई यिनीहरूकै प्रतिनिधि घोषणा गरेर
झुन्ड झुन्ड आवाजहरू !

हेरिरहेछु,
रङ्गशालाको माथिल्लो प्यारापिटमा उभिएर,
र,
हैरान छु यिनका हर्कतहरूसँग ।

०००