चुकूल / लक्ष्मीप्रसाद देवकोटा
क.
को यो फार्ने,
को यो पार्ने
मानिस,
मानिसमा अन्तर ?
यो हो चाँदी,
या हो कागत,
–बाट बनेको धूर्त चुकुल,
जिउँदो निरन्तर !
ख.
यही हो नेता,
यही हो विजेता,
बाहु प्रबल !
मसिनो मुखको,
मोटो जीउको
घुस्न सफल !
ग.
हे बुभुक्षित !
वञ्चित !
कुण्ठित !
चिरियो तिम्रो दल !
लडाइँमा छौ नित्य विफल !
घ.
बुद्धि छ बोक्सी,
चतुरी,
फटाही,
सोही चुकुलको चूल !
सम्मोहनमा पर्छौ राही
स्वर्ग पुग्ने भन्छौ,
उडाई
जादू–कार्पेट,
थोत्रो सुकुल !
ङ.
सच्चा दिन के शक्ति होइन ?
के जनताले राज हुँदैन ?
माटोले के घर बन्दैन ?
आगो पसीकन,
हेरन मोल !
अविश्वास हो भयङ्कर भूल !
किन हालेका होउ छातीमा,
सुनको चुकुल !
आर्तदत हो !
किन चिरिएका ?
मुटुले खाई,
झूठो कबूल ?
च.
जनतन्त्रलाई पूँजी राज्दछ !
पूँजी विभाज्दछ !
नेता भैकन पूँजी गाँज्दछ !
हाय !
सहेको किन यो भूल ?
मिल ए गरीब !
मिल ए दीन !
मिल ए दुःखी !
मिल ए हीन !
फ्याँक,
उखेल
चुकुल !
छ.
यो पहाड हो,
खाल्डाबीचको !
यो चुकुल हो डँडाल्नाबीचको !
तिम्रो भयङ्कर शूल !
बेहोश !
हटाऊ भूल !