पर्खिरहेछु,
यो बतासमा जीवनको सौन्दर्य
पात विहीन रूखको नियति
निर्विकल्प पर्खाइमा अड्किएको छ
हेर्नु छ मलाई पलाएका पातहरू
र त यसरी
आफ्नै अनुहारमा बिसौनी दिएर
सहँदै छु यो अथाह अराजक बतासलाई
लाग्छ
मैले हराएको प्रेम र
तिमीले गुमाएको विश्वास
सँगसँगै उडिरहेछन् यो बतासमा
मानौँ ती पात होइनन्
आँखा हुन् मेरो अनुहारबाट
भर्खरै तिमीले उप्काई लगेको
खै के छ के छ यो चैत्रको बतासमा
यसका भयावह पखेटाहरू
मेरो बरन्डा हुँदै
कोठा कोठामा प्रवेश गर्छन्
र भयभित बनाउँछन् मेरो विश्वासलाई
म धकेलिन्छु प्रत्येक भित्ताहरूबाट
समाउनै नसकिने सपनाहरू
अराजक पखेटाहरूले उडाउँछन्
मेरै बरन्डाबाट धकेलिन्छु म
र तिमी हेरिहन्छौ म सकिनुको आरम्भ
मानौँ यो बतास
मात्र तिम्रो इशारामा चल्छ !
पर्ख, एक विन्दुमा स्थिर छु म
तिमी पनि रोकिहाल आफूलाई
यतिबेला म आँधी
तिम्रो पाइलाको लम्बाइ नापिरहेछु !!
०००