चैतको साँझ / सुदीप पाख्रिन
चैतको कुरुप भित्तामा
धुलिंदै लहराइरहेका गोधूलीका चित्रहरु
शोकगीतझैं स्वाँ.... स्वाँ.... चलिरहेका
उराठिला मौसमका कोलाहलहरु
साँझ बिरक्तिंदै चूपचाप छ !
बिरक्तिंदै साँझ चूपचाप छ !!
सडक चिच्याउँदैछ
कानै चपाउने उग्र यांत्रिक आवाजहरु
सडक छेउका दोकानहरु कराउँदैछन्
पपगीत/फिल्मीगीतका मस्तिष्कै पकाउने चर्का धूनहरु
साँझ उराठिंदै मौन छ !
उराठिंदै साँझ मौन छ !!
कृतिम हल्लाहरुले थिचेका
चराहरुका संगीतहरु
एक्सपोज्ड बैंशहरुका
भारी बोकिरहेका फुटपाथहरु
साँझ उकुसमुकुसिंदै शान्त छ !
उकुसमुकुसिंदै साँझ शान्त छ !!
तेलकासा, डण्डीबियो, लुकामारी
बिर्सिसकेका बालक गल्लीहरु
राजकुमार दिक्पालका मिथहरु र लोरीहरु
थाती राखेका सुकुमार निश्चल निंद्राहरु
साँझ अत्तालिंदै निस्तब्ध छ !
अत्तालिंदै साँझ निस्तब्ध छ !!
साँझ छ —
यादहरुका कोलाजहरु छन्
अनि
गजलहरुका धूनहरुको तापक्रममा
पग्लिरहेको छ साँझ — आँखाहरुबाट !
पग्लिरहेको छ — चैतको साँझ !!