व्यर्थैको रिसम परेर शिव हा ! तेरो टुटयो अङ्ग नी !
बिर्सेरै उपयोग आज किन, भो तेरो ठूलो नाश नी !
केही छिर्विर विन्दु-पूर्ण हुनगै तैले अही विश्वमा
जे गर्छस् सब काम ती भुलिदिंदा सड्ने भइस् भूमिमा ।।१
एकै पंक्ति लिएर विश्वभरमा शान्तिप्रभा तर्दछस्
त्यस्तै पीर विचारलाई संग ली विरत्व नै भर्दछस् ।।
तेरो नै रचना गरेर पहिले मान्छे बने सभ्य यी
तैंमा नौरस काव्यको भरि सदा बाँचीरह्छन् कवि ।।२
कस्तो हो कमजोर भाव मनको मान्छे विवेकी पनि
पोख्नै क्रोध वलिष्ट माथि नसकी नास्छन् सुधो जीवनी ।।
तेरो यो गति भो परन्तु सहिदे, मैले सकें क्यै भने
अर्पी जीवन पंक्तिले भरि दया पार्ने छु पैदा हुने ।।३
ए कीर्तिप्रद स्वच्छ कागत ! सबै नाशै हुने हुन् भने
तेरो नाश अनन्त कालतक नै बनेने छ नाऊँ लिने ।।
उर्लेको रिसमा गएर नजिकै आफ्नो दिई जीवन
जो गर्छन् अरुको बचाउ तिनमा सच्चा छ उच्चोपन ।।४
मेरो यो दिलमा अनन्त करुणा बग्ने गराइदिइस्
त्यस्तै लोचनमा विशाल दिलको प्रेमाश्रु पैदा गरीस् ।।
यस्ले जीवनमा अशान्ति दिलको बग्लान् जसै ली लिपी
त्यो बेला हँसिलो भृर सहलास् तैं कल्पनामा छिपी ।।५
ए प्यारा ! रिसको स्मृति ! व्यथित भै बन्धुत्वको भावना
पोखूँला जति जीवका उपरमा, भोग्ने ठूलो पातमा ।।
त्यो बेला करुणा र प्रेम रसको वर्पाउँदै बूँद ती
तेरो देन म सम्झनेछु मनमा गर्दै ठूलो आरती ।।६
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)