भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

छेउढोकाबाट कसैले गोली नहानून् ! / मोमिला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

ढोका खुला हुनु स्वीकृति
ढोका बन्द हुनु अस्वीकृति
तर, प्रिय ईश्वर !
स्वीकृति–अस्वीकृतिभन्दा प...र
तिम्रा नाममा
सारा ढोकाहरू खुला छन्

मान्छेको इतिहासमा त
गजबार लागेका ढोकाहरू
मान्छेले आगो बालेर खोलेका थिए
पुराना धर्मग्रन्थका ढोकाहरू
सीमान्त चेतनाले खोलेका थिए
मान्छेले बनाएका मन्दिरमस्जिदका ढोकाहरू
आफै बलि चढेर खोलेका थिए
अझै पनि संसारमा
कति ढोकाहरू बन्दै होलान्
तर, प्रिय कविता !
बन्द र खुलाभन्दा प....र
तिम्रा नाममा
सारा ढोकाहरू स्वीकृत छन्

प्रिय मान्छे !
बन्द ढोका त
नहुनुको अर्थमा मात्र बन्दको पीडा
खुला ढोका
हुनुको बोधमा सिङ्गो जीवनकै पीडा

पीडा नै सही
म, मान्छे
मृत्यु झेल्ने साहसले नै
चेतनाको मूल ढोका खोलेर
जीवनको जोखिममा प्रवेश गरेँथेँ


जीवन छ र त
खुला ढोकाको जोखिम उठाउने
प्रश्नोत्तरहरू छन् मान्छेसँग
प्रश्नोत्तरहरू छन् र त
सभ्यताको प्रारम्भ र उपसंहार छ ऊसँग
र मध्यान्तरमा—
मान्छेले ईश्वरको सृष्टि गरून्
या ईश्वरमृत्युको घोषणा गरून्
मान्छेले कविताको सिर्जना गरून्
या कवितामृत्युको घोषणा गरून्
ऊसँग गति छ/तरङ्ग छ
    भाव छ/भङ्गिमा छ
    तर्क छ/विरोध छ
    ठोक्कर छ/पीडा छ
    सान्त्वना र आभास छ
जम्मामा—
    स्वीकृति/अस्वीकृति
    हुनु/नहुनुको चैतन्यमा
ऊसँग युगौँदेखिको ढोकाको इतिहास छ

अन्त्यमा—
प्रिय प्रेम !
छेउढोकाबाट कसैले गोली नहानून् !
मानवजीवनको जोखिममा तिमीलाई
मूलढोकामै सदा स्वागत छ......!!