भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

छैन आपत्ति मलाई / भाइचन्द प्रधान

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

यो मेरो शुरुक नीरस निर्मम मृतप्रायः जीवनमा
रे सखे, नआऊ तिमी !
यहाँ सौन्दर्य छैन त्यो
आनन्द पनि छैन त्यो
पाउँछौ तिमी जो दुःखपश्चात् सुखमा ।
यो ता केवल एउटा मरुभूमि हो
केवल शुष्क वृक्ष, जलविहीन कूवा
जहाँ निराशा र उच्छ्वासले गर्दछन् निवास ।
यो ता मांस-पिण्डमय काया
जसमा सहृदयताको, चेतनताको
अनुभूतिमय भावनाको प्राशा विश्वासको
निवास छैन कतै ।

यसलाई पाएर भएनन् कोही सुखी
गए सबै रोदनसाथ, गए क्रन्दनसाथ
गए दिएर श्राप, गए सदैवका निम्ति ।
यसैले, हे सहृदय सखे, नगर प्रयास यस्तो
जसले तिमी हुन्छौ सफल स्वागत गर्न मेरो ।

यस्तो अन्धमय जीवन
के छ यहाँ ? के प्राप्य छ यहाँ ?
के लाभ यो जीवनलाई अपनाएर यसरी?
यो जीवन-विधिलाई अपनाएर तिमीले
नहोऊ स्वतः नीरस, निर्मम, शुष्क ।
गर तिमी विचार-विनिमय, गर त्यसमा तर्क-वितर्क,
यही जीवन-गतिविधि-सदृश बनाउन चाहन्छौ भने
अपनाऊ सहर्ष यसलाई,
छैन आपत्ति मलाई
रे सखे, छैन आपत्ति मलाई ।