भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

छोडेर जानेहरू / सीमा आभास

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


हुर्काएका थिए स्वाभिमानको वृक्ष ।

आलुबखडामा चचहुई खेल्थ्यो वसन्त याम
जूनलाई नुहाएर आकाश चम्काउँथे चराचुरु∙गी
घाम छेकेर लहरै उड्थे कर्याङकुरुङका बथान
इन्द्रेणीमा तुर्लुङ्ग झुन्डिएर पिङ खेल्थे भुराभुरी
मस्त पोखरीमा नुहाएर तन्नेरी भई निस्कन्थे केटाकेटी ।

एकाएक उनीहरुको धुरीमा खसेर गयो पुच्छ्रेतारा
र, भत्किए उनीहरु ।

उनीहरुले गाउने घण्टीफूलको गीत खसिरहेछ पँधेरामाथि
जुरुक्क अग्लिएर, उनीहरुलाई डाकुँलाझैँ गर्छ यो मनोहर उपत्यका
उनीहरुसँगै जाउँलाझैँ गरी उड्न खोज्छन् ढुङ्गामा कुँदेका हलेसोका चित्र ।

जाने बेलामा ढोगेथे, कुलपितृको आशीर्वादलाई
भाकलको पैतालामा चढाउन पालेथे भाले र बोको
भेटीपाती उठाएर गएका उनीहरु फर्किएनन् अझै ।

जाँदै गर्दा
आफ्नै जहानजस्तो राते कुकुर
खोरका सुँगुर र कुखुरा
दाम्लाका गाईबस्तु
लिएर गए कि छोडेर गए ?

अलिअलि गर्दै च्यातिएका थिए हृदयका पत्र
दुख्यो भन्न पाए कि पाएनन् ?

अमुक शत्रुले कुवामै रेटी मारेको
गाउँका तन्नेरीहरुको काँचो वायु र छाया
कुवाको पानीमा डब्डबाउँछ भन्थे
उनीहरुकै हंस कुवाभित्रबाट चिच्च्याउँदै भाग्छ भन्थे
त्यो भूतकुवाको पानी खान नसकेर
तिर्खाले प्याकप्याक गर्दै
कुन नदीतटतिर गए ती सेता हाँसहरु ?

बेखबर तिनीहरुका घरजहान
रातबिहान बर्बराउँदै कुद्थे गल्लीगल्ली
आफ्नै आँगनको त्रासदीले, कहाँ लखेट्यो उनीहरुलाई ?

बर्खा झरेर जीउभरिका कपडा च्यातेथ्यो
बाढीमा सोहोरिँदै नाङ्गै गए कि केही लाउन पाए ?

केराको थाममा खुकुरी गाडेर खोलाको पानीसँगै बगे भन्थे
दोभानबाट हराएका ती जोडीहरुको वयस्कपन
कसैले भेटे या भेटेनन् ?

छानोबाट मझेरीमा तारा झरुन्जेलसम्म
ढोकामै बसेर रुँदै थिए भोका नानीहरु
रातभरि भोकै रोइरहे कि खान पाए ?

ढाकरमा पृथ्वी बोक्ने बूढा घाम–जूनजस्ता बा–आमै
अझै छन् कि ढाकर बिसाएर धरतीपारि गए ?

माहुरीको घारजस्तो पुख्र्यौली थलो
बचेरा हुर्किएको गुँडजस्तै टुहुरो देउराली
उनीहरुकै आस्थामा उभिने शीतल बर–पीपल
हरिया पात हल्लाउँदै हेरिरहेछन्
उनीहरुले भन्ज्याङ तरेर गएको बाटो ।

आँटीमाथि बल्दाबल्दैको दियालो हातमा बोकेर
आनै पाखुरामाथि उभ्याएको घर काँधमा राखेर
खुनले आर्जेको सृष्टि विधातालाई बुझाएर
उक्काएर आनै पैतालाको छाप
यो सम्पूर्ण बस्तीलाई माया मारेर
विरही तालमा सहनाई बजाउँदै
कहाँ गए छोडेर जानेहरु ?