भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

छोरो आएको छ / दैवज्ञराज न्यौपाने

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


१.
छोरो पढ्न गएको थियो
ऊ जटी भएर आएछ
गलामा रूद्राक्षको माला थियो
धुर्जटी भएर आएछ,
तुलसीको माला पनि थियो
वैष्णव भएर आएछ
उसले क्रस पनि झुण्ड्याएको थियो
क्रिश्चियन भएर आएछ,
खुर्पे चन्द्रमा पनि थियो
मुस्लिम भएर आएछ,
लकेटमा ओशो थिए
ओशोभक्त भएर आएछ,
औँठीमा बाबा पनि थिए
साईभक्त भएर आएछ,
सर्वसत्तावादी सर्वसमन्वयवादी
विशुद्ध मान्छेजस्तै मान्छे भएर आएछ,
छोरो पढ्न गएको थियो
ऊ पढेर भर्खर आएको छ।

२.
औँलामा देवीको औँठी पनि रहेछ
ऊ शाक्त भएर आएछ,
भैरवको औँठी पनि रहेछ
ऊ तान्त्रिक भएर आएछ,
समग्रताको प्रतीक ç पनि लगाएको रहेछ
ऊ एक भएर आएछ,
अरू पनि धेरै प्रतीकहरू रहेछन्
ऊ अनेक भएर आएछ,
भर्खर किनेर ल्याएको पाइन्ट टालेर लाएछ
शर्टभरि झिल्के कुरा टाँसेर लाएछ
हातगोडा र शिरमा फिता बाँधेर आएछ
कानमा मुन्द्री, हातमा कडा
र केशमा रिबन लाएर आएछ,
ऊ बहुरूपी भएछ, जोक्कर भएछ
अर्द्धनारीश्वर भएछ
ऊ एकबाट अनेक भएछ
अनेकबाट एक भएछ,
ऊ द्वैत भएछ, अद्वैत भएछ
द्वैताद्वैत भएछ, विशिष्टाद्वैत भएछ,
ऊ शुद्ध, बुद्ध, प्रबुद्ध भएछ
'ब्रह्मबेत्ता ब्रह्मैव भवति'
ऊ ब्रम्ह भएछ,
छोरो पढ्न गएको थियो
ऊ पढेर भर्खर आएको छ।

३.
थाहा छैन ऊ मानव भएर आएको छ कि?
त्यसै फर्किएर आएको छ,
यो पनि थाहा छैन
ऊ भरिएर आएको छ कि?
झनै रित्तिएर आएको छ,
भोलि आउने दिनहरूले
उसको पारख गर्लान्,
समयको कडा आँचमा
उसलाई खार्लान्, ऊ खारिएला?
हो ऊ खारिएला !
वर्तमान समय सन्दर्भमा
छोरो पढ्न गएको थियो
यति वेला ऊ पढेर भर्खर आएको छ।