जङ्गल / ललिजन रावल
यति चाँडै जङ्गललाई
तिमीले बिस्र्यौ कसरी ?
जङ्गलबाटै सुरु भएथ्यो
आदिम सभ्यता
जङ्गलबाटै प्रयोग गर्न सिकेथ्यौ
पाषाण हतियार
जङ्गलबाटै प्रारम्भ गर्यौ
साङ्केतिक भाषाको प्रयोग
जङ्गलबाटै भएथ्यो विचारको विस्तार
र सधैँ–सधैँ प्रदान गर्योत तिमीलाई
जङ्गलले नै सुरक्षा
सहर प्रवेशपछि
यति चाँडै
जङ्गललाई बिस्र्यौ कसरी ?
भर्खरको विगत बिस्र्यौ कसरी ?
जङ्गल मरेको छैन
आफूभित्रका खोलानालाहरूको गतिमा जीवित छ
रूख–बिरुवाका पातहरू निरन्तर हावामा हल्लिँदै
ज्युँदोपन देखाइरहेका छन्
जङ्गलभित्र एकलासमा
फूलहरू फुलेकै छन्
सुवास र सौन्दर्य छरेकै छन्,
तिमी भने गमलाका फूलहरूमा रमाएका छौ,
राजधानी प्रवेशपछि
अत्याधुनिकताको अभिनयमा
जङ्गललाई आदिम देख्यौ कि कसो ?
जङ्गलदेखि विरक्त भयौ कि कसो ?
तर आफ्नो प्रारम्भलाई नबिर्स यसरी
एकपटक पाइतालाले चुम जङ्गललाई
खोला र नदीनालाहरूको चिसो पानीलाई स्पर्श गर
र सम्झ जङ्गलभित्र समाहित भएका
ती महान् आत्माहरूलाई
जो तिम्रा र मेरा निम्ति
समधिस्थ भए त्यसरी,
यसैले
सम्पूर्ण सुविधायुक्त राजधानीबाट
सुदूर जङ्गललाई अवश्य सम्झिने गर
जो तिम्रो उद्गमस्थल थियो
जो तिम्रो प्रस्थानबिन्दु थियो ।