जन्मभूमिको सृष्टि मेरो दृष्टि / विष्णु न्यौपाने
(नेपालको प्राकृतिक वर्णन)
दक्षिण एसिया माथि टुक्रा छ एक स्वर्गको
ब्रम्हाण्ड भरिको राम्रो स्यानो सुन्दर सर्गको
शान्ति वा सभ्यता उच्च सृष्टिकै शिष्ट बैभव
ब्रम्हाको रचना मध्ये खर्चेको मूल पौरख
सूर्यको पहिलो पाउ यो देशै बिच पर्दछ
उत्रेर हिउँमा खेल्दै विश्वमा रङ्ग भर्दछ
फूलमा बाबरी जूही फुल्दछन् वासना छरी
जडीबुटी हजारौं ती खुल्दछन् अमृतै भरी
जलको राजधानी हो हरीया वनको धनी
ध्वजामा चम्कने गर्छन् चन्द्र सूर्य घुमी घुमी
हिमाल शिरमा सेतो चाँदनी रुप सिर्जँदै
पङ्तिबद्ध बनी हाँस्छन् संसार सब बिर्सँदै
हात्तीका लम्कने ताँती जस्तै पहाड खुल्दछन्
सुनौला धानका बाला तराइ भित्र झुल्दछन्
हो कुन देश हे त्यस्तो प्रीतिको मुग्ध पल्लव
यो हो सगरमाथाको देश ‘नेपाल’ झल्मल
आर्जिए कसरी यस्तो खुर्खाका खुनले सिँची
ब्रम्हाले ज्ञानको चित्र कल्पेर भूमिमा खिची
लागे ज्यामी कति शक्ति चुल्याउन हिमाल यी
उचाल्दा पहरा पाखा काट्न खोला कछाड ती
मिलाइ चुचुरा राम्रा हजारौं ती पहाडका
गल्छी पाखा र द्यौराली बेंसी टार कछाडका
खनेहुन् कसरी खोला, नदी, ताल भयङ्कर
उमारे कसरी पानी छेडी पर्वत अक्कर
बर्षाए फूलझै हल्का कसरी हिम फर्फरी
प्रविधि कसरी जन्म्यो पगाल्ने हिम सर्सरी
नसुक्ने मूलको साँचो शिरमा घुम्छ के गरी
चट्टानी भीरका माथि भरेहुन् मट्टी के गरी
चालेहुन् कसरी ढुङ्गा तराई कसरी कुँदे ?
पहरा बिचमा पानी मूल ती कसरी फुटे ?
ताल छन् पोखरी राम्रा हिमताल हिमालमा
उपत्यका भलीभाँती मैदानछन् पहाडमा
थिए हुन् आँटिला ज्यादै इन्जीनियर तेजिला
कुँदेका स्वर्गका झिल्का धर्तीमा अति चम्किला
नेपाली पनका सच्चा ज्यान ज्ञान र ध्यानले
बगाइ रक्तका सिन्धु सीमाना दरिला बने
शत्रुका शिरमा खूँडा बर्साइ तरवार ती
बाँधेका रक्तका किल्ला मृत्युले सिंचिदै कति
किल्ला उत्तरमा लाए हिमाली शिर धारमा
जितेर शत्रुको शक्ति पुगी तिब्बत द्वारमा
पूर्व, पश्चिम, साथैमा दक्षिण भाग भारत
गोर्खाली वीरको सीमा नदी पर्खाल तार छ
मेची काली बगेका छन् पूर्व पश्चिम धारमा
दसगजा खडा नै छन् आत्मसम्मान, प्यारमा
भूगोल गोलिलो छैन छ यो आकार ईँटको
फैलिंदो पूर्व पश्चिमी गोलिंदो चन्द्र बीटको
ज्ञानको कुपहो राष्ट्र बुद्धको जन्म भूमि हो
ध्यानीको तिर्थ हो हाम्रो वासबस्ने निवास हो
नेपाल घर हो प्यारो जाहान जनता सबै
राष्ट्र भक्ति भयो नाता एकता प्रेमको सधैं
यो एसिया महाँदेशी गोलाद्र्धमा छ उत्तरी
दुबै गोलाद्र्ध जोड्दामा बीचमा पर्छ हर्घडी
ठूलो उत्तरको चीन ठूलै दक्षिण भारत
दुबै मुलुक हुन् हाम्रा सम मित्र सदा सदा
शासित चीनकोे भूमि तिब्बती हिमश्रृंखला
सीमाना उत्तरी घेर्छ ढाकेरै हिउँले सदा
पूर्वी औ पश्चिमी किल्ला दक्षिणी द्वारमा पनि
युपी, विहार, सिक्किम, बंगाल भारती भूमि
चाङ्ला उत्तरको बिन्दु लोदावारी छ दक्षिण
ताप्लेजुङ हिरा पूर्वी दोधारा पश्चिमी सुन
चौध अञ्चल छन् जिल्ला,गाउँ साना मिलीजुली
बनेको देश यो हाम्रो माथमा हिमका चुली
धर्मस्थल नदीनाला चुली हिमाल नामले
हाँसेको चिनिँदै धर्ती विश्वासी कर्म ज्ञानले
कर्णाली गण्डकी कोशी सरिता सप्त सागर
ठूलाहुन् जलका सिन्धु बग्दछन् यी निरन्तर
सुन, तामा, तमोरै वा दुध कोशी र लीखु छन्
इन्द्रावती अझै राम्री अरुण सप्त भाग हुन्
काली, सेती, बुढी, मादी, मस्र्याङ्दी, त्रिशुली मिली
सप्त गण्डकमा पस्छिन् दरौंदी सप्त अञ्जुली
कर्णाली मुगु हुन् ठूली, सानी भेरी, तिलाचन
बुढीगङ्गा बनी सेती हुम्ला कर्णालि मञ्चन
यी सारा नदीका पानी प्रयोग देशले गरे
श्वेत यो कोइला दात्री बन्दथ्यो विश्वमा भरे
बगेरै खेर जानाले हामी छौं अन्धता भरि
बिना उन्नति सुस्तायौं भाग्यका भरमा परी
मरुभूमि सही बाँच्ने तिर्खालु एक देशमा
थ्यो भने एक सिर्को यो खुल्थ्यो स्वर्ग ललाटमा
उत्तरी क्षेत्रको अग्लो हिमाली भेग श्वेत छ
ह्यूँ मात्र हैन यो धर्ती नेपाली मन श्वेत छ
तराइ मुटु हो हाम्रो भकारी अन्न पातको
जोडिने बाहिरी पाटो द्वार भित्री पहाडको
लेदिलो दोमटे माटो उर्वरापन सर्वदा
हजारौं फल्दछन् दाना रोपी एकल आँकुरा
सन्तति जोड्छ माटोले पूर्व औं पश्चिमाञ्चल
संमृद्धि जोड्छ बाटोले विश्व सामु भयानक
छरेर ज्ञानका मोती बुद्धको देश उठ्तछ
बालेर शान्तिका ज्योति नेपाली जन जुट्तछ
सूर्यको ज्योतिले टेक्ने विश्वकै शिरमा पुगी
नेपाली पाउले टेक्यो पहिलो साहसी बनी
शृङ्खला हिउँका देख्ता चाँदीका रास देख्तछु
झुल्कँदो घामले भेट्ता सुनका रास देख्तछु
फुस्फुसे हिउँको बर्षा वर्सँदा ह्यूँद रोज्दछु
पग्लँदा झरना बन्दै बर्षाको छाल खोज्दछु
हजारौं चुचुरा ह्यूँका नेपाली शिरमा हुँदा
पोखिउँ हिउँझैं लाग्छ हिमाल चुम्न पाउँदा
नेपाली धनको सिङ्गो ढुकुटी क्षेत्र हो हिउँ
अरबौं जनको आस्था शैलक्षेत्र यही हिउँ
देवताहरूको बस्ती स्वर्गको सर्ग हो हिउँ
नेपाली जनको यौटै विकास मार्ग हो हिउँ
नपग्ले हिउका थुम्का धरती तात्न थाल्दछ
नासिन्छन् मूलका पानी आँत यो सुक्न थाल्दछ
हिमाली भेगको वायु बोकी चिसो बराबर
चिस्याई फर्कने गर्छ तराई फाँट सर्सर
सिरेटो नझरी हुन्न तराई बीच तैपनि
बिहानी पखमा हुन्न हावा तातो कतैपनि
अझै उच्च बनोस् धर्ती भातृत्व प्रेममा पुगी
उन्नति साँच्चिकै फैल्योस् नेपाली पनमै डुबी ।