भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जन्मभूमि. / विष्णु न्यौपाने

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मेरो बस्ती शिर धनकुटा पश्चिमी साँधमा छ
आशा चुम्ने श्रमिकजनको राष्ट्रको काखमा छ ।
कर्मै प्यारा वचन कमला भावना झन् सुनौला
मेरा लाखौं अमर सपना आज आफैं कहूँला ।।
(१)
पाख्रीबासै निकट छ हिले लेक हो भूमि मेरो
कोशी गङ्गा चरणतिर छिन् भूमि बेंसी छ मेरो ।
नेपाली भू जगत मनमा श्वासमा शान्ति ज्योति
लाली छर्दा शिखर शिरमा सूर्यले छुन्छ मोती ।।
(२)
चुङ्माङ् मेरो घर हिमचुली टाकुराले कँुदेको
मायाँ मीठो शिशु हृदयको आँकुराले उनेको ।
आँखीसल्ला पनि छ नजिकै खोकु बेलाहराको
साँधैलाग्ने सरस छ मुगा गाउँ सारै मजाको ।।
(३)
चप्लेंटीको पवन लहरी चुम्दछिन् श्वेत ढुङ्गा
त्यो ढुङ्गामा थकित बटुवा वासले हुन्छ दङ्ग ।
तक्वा, नक्वा, अविरल मुगा मुख्य खोला बगेका
रेखोपाखो वन बगर या खेत बारी सिँचेका ।।
(४)
देशै एकीकरण नभई गम्भिरे फाँट माथि
चुङ्पाराजा रसिक पनका राज्य गर्थे किराँती ।
चुङ्पाहाङ्ले लिखित पहिले भ्रंश भै बोलिचाली
चुङमाङ हाम्रो नव नगर झैं राष्ट्रको उच्च माली ।।
(५)
उत्तर्पानी अधिक तरुणी बैंसले मस्किएकी
लज्जा छर्दै मुसुमुसु सधैं मुस्कुराई रहेकी ।
उच्चा छाती सुरभित हवा ठाउँ त्यो हृष्ट पुष्ट
लोलाएझैं प्रणय सुखमा उर्वशी सुस्त सुस्त ।।
(६)
डाँडै ढाकी ढकमक चिया अम्लिसो झाङ्गिएका
उत्तिस्घारी मुनि फसल छन् वा ! अलैंची अनौठा ।
उव्जेकै छन् ओलन अदुवा आँप अम्वा हजार
वास्ना छर्छन् मगमग सधैं सुन्तला वा जुनार ।।
(७)
आस्था मेरै मुटुबिच उठी भारती मावि बोल्छ
कालो धोईकन हृदयको मुक्तिको द्वार खोल्छ ।
आँखाभित्रै उपर सविता शान्त ब्रम्हाण्ड देख्छु
आफ्नै बस्ती पनि किन अहो स्वर्गको सार देख्छु ।।
(८)
यै माटोमा धवल तन यो अङ्कुराएर आयो
लाली छायो जगत सुखको ज्ञान माधुर्य पायो ।
पङ्खा लागे पनि पयरमा आँतमा खुल्छ धर्ती
पाएका छौं जति सुख सबै हुन् यहीँका असर्फी ।।
(९)
दार्मेडाँडा चरणतटको प्रीतिको फूल रोप्छ
चुङ्सुङ् दाङ्सिङ् विकट जनको ज्ञानको मूल खोप्छ ।
मातिम्बूका मगर अनि तामाङका बाल बच्चा
हुन्नन् कैल्यै पनि विकल वा लाहुरे मान कच्चा ।।
(१०)
मार्गा यौटा गणित युगको धाम हो शीत भूमि
खोकू छिन्ताङ् निकट रहने द्वारहो रीत भूमि ।
घ्याम्पेगाऊँ पनि छ गतिलो आँतमा मात भर्छ
रोटेपिङ्को तलतिर बसी प्राविले ज्ञान छर्छ ।।
(११)
मूगाखोला बगर नजिकै गम्भिरे फाँट हाम्रो
न्यौपानेका भ्रमित थरको गाउँ खत्री छ राम्रो ।
जो जो बस्छन् थरहरू जहाँ नाम त्यस्तै रहन्छ
ढुङ्गा माटो रुख र विरुवा आदिले नाम धान्छ ।।
(१२)
भक्यूँलोको चुक र निबुवा, भोगटेको अमीलो—
पाक्ता खान्थ्यौ तरुल सुठुनी आलु पोली रसीलो ।
बाली आगो वरिपरि बसी तापमा राप थप्तै
भुंग्रे रोटी मह कि त दही साथ खान्थ्यौं असाध्यै ।।
(१३)
आफ्नै धारा पनि घरघरै गोठमा गाइ भैंसी
माछा खेल्ने विमल जलमा तालका छाल खैंची ।
खेल्छन् नौला विविध पुतली बागमा छिर्विराई
पीडा कुण्ठा दुखित मनका भाग्दछन् लर्खराई ।।
(१४)
कालापत्रे सडक उभिए आँगनी छेउ टेकी
जालो बन्दै घर घर पुगे खेतका फाँट छेकी ।
गाडी घोडा पनि सहज छन् माथमा उच्च ज्ञान
स्वाभीमानी पथिक जनको बासमा हुन्छ मान ।।
(१५)
नाङ्गा पाखा हरित बनिए सिर्जिए कारखाना
चिल्ला बाटा फनफन घुमे जोसिला पाखुरामा ।
डाँडा भन्दा अझ उँच बने मानवी ज्ञान थुम्का
चढ्दै भ्यूटावर जनहरू हेर्दछन् घाम झुल्का ।।
(१६)
खल्पी, रोटी, डुकु, अकबरे, साग रायो सबैको
झल्को दिन्छन् अवयव सधैं स्वाद भित्रै गढेको ।
साँधी गुन्द्रुक् अलिकति मकै चट्ट भट्मास भुट्ता
बाक्लो मोही अधिक पिउँदा हात टेक्थें म उठ्ता ।।
(१७)
गोठालोका बयर, पुरुनी, जामुना, मेल सम्झी
मेरो जिभ्रो अझ पनि छिटै फड्कने गर्छ गम्की ।
सम्झी सम्झी सिमल मन यो दङ्ग भै सूर्य छुन्छ
च्याभ्रुङ् भाका हृदय धुनले गुन्गुनाईरहन्छ ।।
(१८)
धोवीखोलै नजिक जरुवा मूल धारो झरेको
आँखा भित्रै धररर सधैं झर्छ चाँदी सरीको ।
आगो जस्तै अति सकसको भूमिमा आज बस्ता
त्यो धाराकै सुखद धुनले काटिँदो रैछ रस्ता ।।
(१९)
ढुङ्गेचौरी सहित पहिरो पग्लँदा आसपास
सल्लो, सख्वा, उतिस विरुवा रोपियो मासमास ।
हुर्की ऐले पवन धुनमा बाडुलीले सुसाई
खोज्दैहोला सयँल मुनि त्यो काख छामी मलाई ।।
(२०)
झर्ना जस्तै बइँस लतिका ताल छोई तरेली—
खेल्दा नाच्छन् तरलमनका भाव भित्रै परेली ।
रातोलाली निरव बनमा छर्दछन् ती गुराँस
मेरा आँखा पथिक जनमा पर्दछन् मासमास ।।
(२१)
काभ्रे पाखो दिनहरू गनी आसले हेर्छ होला
गैरी बारी पनि त खरुकी घाँसले बेर्छ होला ।
साना आँठा अव त चिउरे खेतका खन्छ कस्ले ?
पानी छिर्ने दवित डिलका प्वाल ती थुन्छ कस्ले ?
(२२)
गाई बाख्रा वन विच चरी फर्कँदा सुस्त सुस्त
बज्थे मेरा मधुर मुरली धून मीठा प्रशस्त ।
ओढारेको सुलुलु सुरिलो जङ्गको भीर देख्ता
सातोपुत्लो मन मगजको उड्दथ्यो सामु पुग्दा ।।
(२३)
आरूबोटे बन निकटको छर्छरे काल छाँगो
खोलाबाढी अविरल चले झम्टने हुन्छ राँगो ।
सिम्पानीका हरिस गतिला, सालका काठ चुन्थें
खाँबा बोक्ता रगत पसिना आँसु झारी म रुन्थें ।।
(२४)
हावा पानी सँयल सुविधा स्वस्थता स्वच्छता छ
जस्तो खाना पनि छ रसिलो पाच्य वा शुद्धता छ ।
ढिक्की जाँतो नुन र उनका भार खेप्नै नपर्दा
मेरो बस्ती मुसुमुसु सधैं हाँस्छ सामुन्य पर्दा ।।
(२५)
ती डाँडाका भिर र पहरा घाँच वा धाप माथि
जन्मेको यो मनुज मनको पग्लने गर्छ छाती ।
छोपी आँखा अधिक सपना झर्दछन् रात भित्र
पाखाबारी वन बगरका याद खुल्छन् सचित्र ।।
(२६)
राता झुप्पा सतिबयरको स्वाद उस्तै छ ताजा
अम्बा, आल्चा, खनिउँ सबको यादनै बन्छ खाजा ।
अग्ला ज्यादै शिखरहरूका काखमा जन्मिएर
मेरो बालापन पनि उठो घाँस झैं पन्पिएर ।।
(२७)
सल्लो, सख्वा, सिमल,कुरिलो, बाँसका कारखाना
खोलौं केही कि त सरल झन् काम थालौं स–साना ।
गायो, टाँकी, बबिस, दुधिलो घाँसका रास देख्ता
गाई—बाख्रा नव प्रविधिले पालुँला भन्छ आस्था ।।
(२८)
हेर्दा चारैतिर पृथकको शान्तिको श्वास देख्छु
पाखाबारीतिर कृषकको क्रान्तिको प्यास देख्छु ।
झर्ना खोला बगरहरूमा गीत नौलो सुसेली
पाखा बोल्छन् धुन मधुकरी प्रेम मीठो उचाली ।।
(२९)
पाटी पौवा नहरहरू छन् फूलका छन् बगैंचा
बाटो घाटो पुल पसल वा बस्न राम्रा फलैंचा ।
हेर्दै मेरो हृदय नगरी वासमा आस जप्छ
धर्ती हाँस्ता गगन विधुमा चाँदनी मात थप्छ ।।
(३०)
आफ्नै बस्ती वरिपरि बसी वास मीठो निदाई
मोती जस्तै तरर पसिना झार्छु माटो भिजाई ।
यौटा मात्रै सुख चयनको वासको देश मेरो
नेपालै हो जगत भरिको आसको देश मेरो ।।
(३१)