Last modified on 7 दिसम्बर 2020, at 00:30

जब तिमी आउनेछौ / रिता साञ्चियोनी / सुमन पोखरेल

तिमी यस खोलबाट निस्कने छौ
हाँगाबाट निहुरिएर मलाई हेर्नेछौ
मौसम सकिएपछि बाँकी रहेको एक मात्र फल
बतास र वर्षाको थकित खेलौना ।

मेरो बोधोपनको बास्नालाई पखाल्ने छौ
र आफ्ना आँखाको भेनिला ओढाउने छौ तिमी
हामी गहूँका दाना र छवालीका मुठाबाट निस्कने अदृष्य बाफ हुनेछौँ
मौरीका गाँस र भुनभुनाहटका रुवाइ हुनेछौँ ।

जीवनदायी जलले सिञ्चेर
सम्पूर्ण बगैँचालाई उर्वर बनाउने छौँ हामी ।
चराका झुन्डहरू फक्रिनेछन
फूलका पुङ्केशरहरू उक्सिएर बाहिर निस्कने छन्
र तातो रगतले सर्पहरूलाई ब्यूँझाउनेछ ।

प्रेमको भ्रान्ति, आदिम रीति
तिमीलाई थाह छ
यसको व्याख्या हुन सक्दैन ।


...........................................................................
(मूल इटालियनबाट मार्गारेट स्येनले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनूदित)